पाकिस्तानलाई चिठ्ठा पर्यो !

डिसी नेपाल
१७ कार्तिक २०७६ १२:५२

काठमाडौं। अस्ट्रेलियासँगको पहिलो टि–२० खेल वर्षाले बिथोलिएपछि पाकिस्तानलाई चिठ्ठा परेसरह भएको छ । पाकिस्तानले दिएको १५ ओभरमा ११९ रनको लक्ष्य पच्छ्याइरहेको अस्ट्रेलियाले ३ ओभर १ बलको खेलमै कुनै पनि विकेटको क्षतिबिना ४१ रन बनाइसकेको थियो । तर, वर्षाले अवरुद्ध भएको खेल अन्ततः रद्द भएपछि पाकिस्तान हारबाट जोगिएको छ ।

सिड्नीको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले १२ ओभर ४ बलको खेल हुँदा ३ विकेटको क्षतिमा ८८ रन बनाएका बेला पानी परेपछि केही बेर खेल रोकिएको थियो । वर्षा रोकिन केही ढिलाइ भएपछि खेललाई १५ ओभरमा झारियो । खेल छोट्याइएपछि बाँकी रहेको १४ बलमा पाकिस्तानले १९ रन मात्र जोडेर कूल १०७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५९, मोहम्मद रिजवानले ३१ र आसिफ अलीले ११ रन बनाए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र केन रिचार्डसनले २–२ विकेट लिए भने एस्टोन अगरले १ विकेट लिए । खेल बीचमा छोट्याइएकोले अस्ट्रेलियालाई १५ ओभरमा ११९ रनको लक्ष्य दिइयो ।

अस्ट्रेलियाको इनिङमा पहिलो ओभरमा मोहम्मद इरफानले मात्रै ५ रन दिए भने दोस्रो ओभरमा मोहम्मद आमिरले ८ रन दिए । तर तेस्रो ओभरमा मोहम्मद इरफान कुटिएपछि खेल अस्ट्रेलियाको पक्षमा गएको थियो । तेस्रो ओभरमा मोहम्मद आमिरको बलमा अस्ट्रेलियाका कप्तान आरोन फिन्चले एक्लै ४ चौका र २ छक्काको मद्दतमा २६ रन जोडेका थिए । तेस्रो ओभरमै खेल अस्ट्रेलियाको पक्षमा गएको भए पनि चौथो ओभरको पहिलो बलपछि नै पानी परेर खेल रोकिएपछि अन्ततः पाकिस्तान हारबाट जोगिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *