किन रोकियो आज बस्ने भनिएको आकस्मिक मन्त्रिपरिषद् बैठक?

डिसी नेपाल
१७ कार्तिक २०७६ २०:३३

काठमाडौं। आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले अस्पताल पुगेर फर्केपछि मन्त्रिपरिषदको बैठक बोलाए। बैठकले प्रदेश प्रमुखलाई पदमुक्त गर्नेलगायतका निर्णयहरु गर्यो। यति बेलासम्म खानाको समय भएपछि बैठक सकियो। दिउँसो २ बजेतिर मन्त्रिहरुलाई खबर गयो आकस्मिक मन्त्रिपरिषदको बैठक ५ बजे।

मन्त्रिहरुलाई बालुवाटारबाट मन्त्रिपरिषदको बैठकका लागि बोलाइए पनि एजेण्डा भने बताइएको थिएन।

मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले वालुवाटारमै पार्टी सचिवालयको बैठक शुरु गरे। पार्टी सचिवालय बैठक चलिरहेकै बेला ६ बजेतिर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसअनुसार सबै प्रदेशका प्रमुखलाई पद मुक्त गरेको खवर सार्वजनिक भयो।

आइतबार बस्ने भनिएको मन्त्रिपरिषदको आकस्मिक बैठको एजेण्डा मन्त्रिहरुलाई नभिए पनि राष्ट्रपतिले प्रदेश प्रमुख मुक्त गरेको सार्वजनिक भएपछि नयाँ प्रदेश प्रमुख सिफारिस गर्न बैठक बोलाइएको खुलेको छ। तर, नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखमा कसलाई सिफारिस गर्ने भन्ने निर्णय गर्न नसकेपछि आइतबार बस्ने भनिएको आकस्मिक बैठक सोमबारसम्मका लागि सरेको छ।

पार्टी सचिवालय बैठक ढिलोसम्म बसेको र प्रधानमन्त्रीको स्वास्थ्यका कारण आइतबारको आकस्मिक बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित भएको वालुवाटार निकट उच्च स्रोतले जानकारी दियो।

सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सात प्रदेश प्रमुखको नाम सिफारिस गर्ने गृह कार्य भइरहेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले यसमा पनि भागबण्डा खोजेको स्रोतले बताएको छ। पूर्व माओवादी र पूर्व एमालेबाट भागबण्डा गर्नुपर्ने उनले बताएको उच्च स्रोतले बतायो। प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहालसँग सल्लाह गरेर प्रदेश प्रमुखका लागि नामहरु सिफारिस गर्ने तयारी गरेको बुझिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *