दिल्लीमा अवतरण गर्न नसकेपछि ३० जहाज डाइभर्ट, गम्भीर बन्दै प्रदुषणको समस्या
नयाँ दिल्ली। भारतको दिल्लीमा पछिल्लो समय वायु प्रदूषणका कारण दशौं लाख मानिसको दैनिकी प्रभावित बनेको छ । सम्भावित खतराबाट बच्न भन्दै दिल्ली सरकारले लाखौं मास्क वितरण गरे पनि दुषित हावाले गर्दा आँखा पोल्न थालेको छ ।
प्रदूषणका कारण दिल्लीमा हाल निजी सवारी साधन चलाउन दिइएको छैन । स्कुल समेत बन्द गरिएका छन् । साथै उडान समेत रद्द भएका छन् । खराब ‘भिजिबिलिटी’का कारण मंगलबार दिल्लीमा अवतरण गर्नुपर्ने ३० वटा उडान अन्यत्र मोडिएका छन् ।
विज्ञहरुका अनुसार दिल्लीमा अहिले उडिरहेको वायु एक दिनमा ५० वटा चुरोट पिए जत्तिकै हो । पछिल्ला वर्षका यही सिजनमा दिल्लीमा यस्तै तुवाँलो र दुषित वायुबाट जनजीवन प्रभावित हुने गरेको छ ।
यस्तो हुनुको कारण हरियाणा र पन्जाबका किसानले अन्नवाली थन्काएपछि खेतमा ठुटा पोल्ने गरेकाले हुने गरेको विज्ञहरुको भनाइ छ । भारतको राजधानी नयाँदिल्लीमा ४ करोड मानिस बसोबास गर्छन् ।
मुख्यमन्त्री अरविन्द केजरिवालले दिल्ली ‘ग्यास चेम्बर’ बनेको भन्दै ५० लाख मास्क वितरण गरेका थिए । तर वातावरणमन्त्री प्रकास जावादेकरले केजरिवाललाई उक्त विषयलाई राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
Facebook Comment