उपनिर्वाचन नवलपुरः खिमबहादुर थापा नेकपाको सर्वसम्मत उम्मेदवार

डिसी नेपाल
१९ कार्तिक २०७६ ९:३५

कावासोती । नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ।

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपाले वडाध्यक्षका लागि खिमबहादुर थापा खरुमगरलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको छ ।

जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले बताए ।

खरुमगर बौदीकाली–५ नेकपाको वडा कमिटी सदस्यका रुपमा रहेका छन् । तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनलागेको हो ।

बाजुराः त्रिवेणी नगरपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसले सर्वसम्मत उम्मेदवार छनोट गरेका छन् । उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गरिएको दुवै पार्टीका नेताले जनाएका छन्।

नेपाली काङ्ग्रेसबाट वडाध्यक्षमा निर्वाचित खम्म नेपालीको २०७५ असार १३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन हुनलागेको हो।

उपनिर्वाचनका लागि नेकपाले मनोज बुढालाई उम्मेदवार बनाएको छ भने नेपाली काङ्ग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ।

पार्टीकै सर्वसम्मतिबाट पुरानै प्रतिस्पर्धी भएकाले बुढालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपाका सचिव भरत बुढाले बताए । तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार बनेका बुढा ३५ मतले पराजित भएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *