प्रदेश ३ प्रमुखमा नियुक्त प्रसाईँ: चार पटक जेल जीवन र संघर्ष

डिसी नेपाल
१९ कार्तिक २०७६ १०:५८

भद्रपुर । प्रदेश नं ३ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका विष्णु प्रसाईँ कम्युनिष्ट आन्दोलनका पुराना नेता हुन् । उनी विसं २०२७ यता भएका विभिन्न आन्दोलनका क्रममा चार पटक जेल पर्नुका साथै लामो समय निर्वासित भएका थिए ।

झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका थिए ।

झापा आन्दोलनमा सक्रिय उनी विद्यार्थीकालमा विसं २०२७ मा अनारमनीमा भएको अनेरास्ववियुको कार्यक्रममा पहिलोपटक पक्राउ परी एक महिना राजबन्दी भए ।

पञ्चायती शासनको विरोध गर्दै विसं २०३७ मा झापामा भएको पाटा आन्दोलनमा आठ महिना र विसं २०४५ मा २२ महिना जेल परेका उनी झापाकै पुराना जुझारु कम्युनिस्ट नेता मानिन्छन् ।

विसं २०२७ मै तत्कालीन भूमिगत नेकपा मालेको सम्पर्कमा रहेका उनी प्रधानमन्त्री केपी शर्मा ओली, सिपी मैनाली लगायतसँगका समकालीन नेता मानिन्छन् । तेह्रथुम र झापामा नेकपा मालेको सङ्गठन विस्तार र राजनीतिक आन्दोलनमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको थियो।

लता प्रसाईसँग विवाह गरेको भोलिपल्टै उहाँलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी लामो अवधिसम्म भारतमा निर्वासित हुनुपरेको थियो ।

निर्वासनमा रहँदासमेत उनले पञ्चायती शासनका विरुद्ध सङ्घर्ष गरेका थिए । विसं २०३६ देखि २०४५ सम्म पूर्वी नेपालमा हुने पञ्चायतविरोधी जुनसुकै घटना हुँदा पनि झापामा प्रहरीले उनलाई नै पक्राउको वारेन्ट जारी गथ्र्यो ।

विसं २०४६ को आन्दोलनमा पञ्चायती सरकारले उहाँलाई पक्राउ गरेर जेलमा बन्दी बनाएको थियो । विसं २०६२/६३ को आन्दोलनमा उनी झापामा आन्दोलनका नायक नै मानिन्थे । विसं २०६३ वैशाख ६ गते चन्द्रगढीमा भएको विशाल जनविद्रोहका बेला उनी प्रहरी दमनमा परेर गम्भीर घाइते भएका थिए ।

उनी तत्कालीन नेकपा मालेको नीतिअनुरुप नै विसं २०४३ मा धाइजन गाउँ पञ्चायतको जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । उनले आफ्नो कार्यकाल पञ्चायतविरोधी गतिविधिमा केन्द्रित गरे र पार्टीको सङ्गठन विस्तारमा लागिरहे । उनलाई पञ्चायती शासकले अपराजय बाघ नै सम्झन्थे । त्यसबेला झापामा जुझारु छविका कारण उहाँलाई ‘झापाली टाइगर’ भनिन्थ्यो।

विसं २०५४ मा उनी जिल्ला विकास समितिको उपसभापतिमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भए । विसं २०५६ मा झापा क्षेत्र नं ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेका थिए ।

साथै उनी तत्कालीन एमाले सरकारका पालामा नेपाल चिया विकास निगमको महाप्रबन्धक नियुक्ति भएका थिए । झापाको धाइजनस्थित सम्पन्न परिवारमा हुर्किए तापनि उनी किसान, मोही हकवाला र मजदुर वर्गको असल मित्र थिए ।

उनले आफ्नै बुबाले मोहीमाथि थिचोमिचो गर्दा भूमिसुधार कार्यालय गएर खेत जोत्ने किसानलाई मोहीयानी हक दिलाउन सहयोग गरेका थिए ।

उनी विसं २०७४ मा नेकपा एमालेबाट मेचीनगर नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *