राजस्व अधिकृतलाई जिउँदै जलाइयो
नयाँ दिल्ली (बीबीसी) । दक्षिण भारतीय राज्य तेलंगानामा सम्पत्तिसम्बन्धी एउटा विवादमा एक राजस्व अधिकारीलाई जिउँदै जलाएर हत्या गरिएको प्रहरीले बताएको छ । विजया रेड्डी नामक ती महिला अधिकारीको सरकारी कार्यालयभित्र सोमवार आक्रमण भएकै स्थानमा मृत्यु भएको थियो । उनलाई जोगाउन खोज्ने एक पुरुषको कर्मचारीको मंगलवार उपचारका क्रममा मृत्यु भएको छ ।
घटनास्थलमा खिचिएको एउटा हृदयविदारक भिडिओमा रेड्डीले गुहार मागेको र कसैले उनको शरीरमा एउटा कम्बल ओढाइदिएको दृश्य देखिन्छ । प्रहरीले सन्दिग्ध आक्रमणकारीलाई नियन्त्रणमा लिइएको जनाएको छ । ती व्यक्तिको शरीर पनि आगोले पोलेको छ । सोमवार दिउँसो १ बजेर ३० बजेतिर अदालतको एउटा सुनुवाइबाट फर्किएपछि रेड्डीमाथि सांघातिक आक्रमण गरिएको थियो । उनकै कार्यालयमा भेट्न आएका के सुरेश नाम गरेका व्यक्तिले आक्रमण गरेको प्रहरीको भनाइ छ । रेड्डीलाई जोगाउन गएका दुई कर्मचारी पनि आगोले पोलेर घाइते भएका थिए ।
ती मध्येका गुरुन्नाथामका अनुसार रेड्डीको कार्यकक्षबाट चिच्याएको आवाज आयो तर त्यो भित्रबाट बन्द गरिएको थियो । ‘उनी जसोतसो ढोका खोल्न सफल भइन् र बाहिर आइन् । हामी अर्का मानिस (सुरेश) लाई तान्न खोज्दैथ्यौँ । उनी भुइँमा ढलिन् र हामीले पत्तो पाउनुअघि नै आगो सबैतिर फैलिसकेको थियो,’ उनले प्रहरीलाई बताएका थिए । पछि गुरुन्नाथमको पनि मृत्यु भयो ।
तेलंगानाको राजधानी हैदराबादभन्दा ३२ किलोमिटर पर उक्त घटना भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार शरीर जलेर घाइते भएका सुरेश उक्त सरकारी भवनबाट बाहिर भागे। प्रहरीले उनलाई सडकमा फेला पा¥यो र अस्पताल लग्यो । एक वरिष्ठ प्रहरी अधिकारी महेश भागवत्का अनुसार प्रहरीले आक्रमणमा एक जना मात्रै वा बढी व्यक्ति संलग्न थिए त्यो पत्ता लगाउन खोजिँदैछ । सन्दिग्ध सुरेश नजिकैको एउटा गाउँका निवासी हुन् । उनको परिवारले जग्गासम्बन्धी एउटा मुद्दा झेलिरहेका छन् ।
उनका पिताले सञ्चारमाध्यमलाई भने, ‘जग्गा विवादमा एउटा मुद्दा चलिरहेको छ । तर त्यो म र मेरा भाइले हेरिरहेका छौँ । उनी (सुरेश) किन ती अधिकारीलाई भेट्न गए त्यो हामीलाई थाहा छैन ।’ घटनाको विरोध गर्दै तेलंगानामा कार्यरत राजस्व सेवाका कर्मचारीहरूको संगठनले तीन दिनसम्म काममा नजाने घोषणा गरेको छ । ‘सरकारी कार्यालयभित्र यस्तो घटना हुनु दुर्भाग्यपूर्ण हो,’ संगठनका अध्यक्ष रवीन्द्र रेड्डी वांगाले बीबीसी तेलुगूलाई बताए । उनले विगत दुई वर्षमा राजस्वका कर्मचारीसँग दुर्व्यहारका घटनाहरू भएको दाबी गरेका छन् ।
Facebook Comment