एकैदिन ६ हजारबढीले अवलोकन गरे नारायणी महोत्सवमा

डिसी नेपाल
१९ कार्तिक २०७६ १८:४६

चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणगढको नदी किनारमा सञ्चालन गरिएको ‘नारायणी महोत्सव २०७६’ को मंगलबार ६ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।

कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सवमा मंगलबार दर्शकहरुको संख्या केही कम देखिएको रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारले बताए । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गर्नेगरि नारायणी नदी किनारमा महोत्सवको आयोजना गरिएको राजकर्णिकारको भनाइ छ ।

मंगलबार महोत्सवको विशेष आकर्षणको रुपमा राजनराज सिवाकोटी, प्रताप दास, दीक्षा सुनुवारलगायतका कलाकारहरु रहेका थिए । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले समेत आफ्नो प्रस्तुति राखेका थिए । महोत्सव अन्तरगत बुधबार चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विक, दिपक खड्का, दीक्षा सुनुवारलगायतका कलाकारले प्रस्तुति राख्ने सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।

महोत्सवमा शिव परियार, दुर्गेश थापा, कमला घिमिरेलगायतका धेरै कलाकारहरु आउन बाँकी नै रहेको अधिकारीको भनाइ छ । तीन सय व्यवसायिक स्टल रहेको महोत्सवलाई सफल पार्नका लागि दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक प्रस्तुती भइरहेको अधिकारीले बताए ।

कात्तिक २५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट भएको आम्दानीबाट अपाङ्गता भएका बालकालिकाहरुको शिक्षा दीक्षा तथा औषधिउपचारमा खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानले हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय दिएर औषधिउपचारका साथै शिक्षा समेत प्रदान गर्दै आइरहेको छ ।

महोत्सवमा विभिन्न बाल उद्यानका साथै नारायणी नदीमा ¥याफ्टिङ्ग चढ्ने व्यवस्था समेत मिलाइएको छ । महोत्सव अवलोकन गर्न सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीहरुका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको थापाले बताइन् ।

रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *