बागलुङ २ (ख) मा वाम गठबन्धनबाट शाही उम्मेदवार

डिसी नेपाल
२० कार्तिक २०७६ ६:२३

बागलुङ । बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्यको उपचुनावमा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार चयन भएका छन् ।

पार्टी केन्द्रले मंगलबार उम्मेदवारको टुङ्गो लगाएको राजमो जिल्ला अध्यक्ष अमर थापाले जानकारी दिए ।

वाम तालमेलको सहमतिअनुसार उक्त क्षेत्रमा राजमोलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सघाउने भएको छ।

निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही राजमोको जिल्ला सदस्य हुन् । राजमो बागलुङले सम्भावित उम्मदेवारका रुपमा शाहीसँगै गत वर्ष निधन भएका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीकी पत्नी सुनमाया र जिल्ला उपाध्यक्ष धर्म कुँवरको नाम सिफारिस गरेको थियो।

जिल्लाको राय, सुझाव र सिफारिसका आधारमा राजमो केन्द्रीय समितिले उम्मेदवार छनोट गरेको हो।

अघिल्लो चुनावमा पनि तत्कालीन वाम गठबन्धनका तर्फबाट राजमोका उम्मेदवार घर्ती विजयी भएका थिए।

घर्तीको गत वर्ष निधन भएपछि रिक्त रहेको प्रदेशसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।

विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो।

राजमोले बागलुङकै बडिगाड गाउँपालिका–२ मा हुने वडाध्यक्षको चुनावमा पनि नेकपालाई समर्थन गर्ने निर्णय गरेको छ।

उक्त वडामा नेकपाले ढालेन्द्र शेरचन र नेपाली काङ्ग्रेसले डिलबहादुर रानालाई उम्मेदवार बनाएको छ । अन्य दलको भने उम्मेदवार टुङ्गो लाग्न बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *