गुल्मीको हस्तीचौर झोलुङ्गे पुलको उद्घाटन

डिसी नेपाल
२० कार्तिक २०७६ ७:३२

तम्घास । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मङ्गलबार गुल्मीको इस्मा गाउँपालिकाका वडा नं १ र २ जोड्ने हस्तीचौर झोलुङ्गे पुलको उद्घाटन गरेका छन् ।

छिनुवा घर्तीफाँट छल्दीखोलामा निर्माण गरिएको उक्त पुलको उद्घाटन गर्दै उनले सबैका घरमा स्वच्छ पिउनेपानीका धारा, विद्यालयसम्म सहज पहुँच, महिला उद्यम, सुरक्षित आवासलगायतका आधारभूत माग पूर्तिका लागि सरकार लागिपरेको बताए ।

पुल बनेसँगै स्थानीयवासी पनि हर्षित भएका छन्। स्थानीयवासीलाई आवातजावतमा सहज भएको, घाँस, दाउरा ल्याउन तथा विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सहज भएकामा स्थानीयवासी खुशी भएका हुन्।

स्थानीयवासी मीना कुमालले पुलले गर्दा सबैभन्दा धेरै बर्खायाममा सहज हुने प्रतिक्रिया दिए । “बर्खायाममा खेतमा आवतजावत गर्नुपर्ने हुन्छ, तर खोला ठूलो आउने भएकाले धेरै गाह्रो हुन्थ्यो”, उनले भने, “पुल बनेसँगै राहतको महसुस भएको छ।”

कूल ३०४ मिटर लम्बाइ रहेको पुल ९१ मेट्रिक टन अर्थात् ६५६ पदयात्री एकैपटक यात्रा गर्न मिल्ने गरी विराट÷अन्नपूर्ण जेभीले निर्माण गरेको छ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, सस्पेन्शन ब्रिज डिभिजन, पुल्चोक ललितपुरको मातहतमा पुल निर्माण गरिएको वडा नं १ का अध्यक्ष चुरा खत्रीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *