अझै कही वर्ष व्यापार घाटा कायमै रहने उद्योग मन्त्रीको भनाइ
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन्। मन्त्री यादवले आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने बताए।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याए। नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने मन्त्री यादवको भनाइ छ।
‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र आपसी सहकार्य गरौं,’ मन्त्री यादवले भने, ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ।’ उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिन्छ तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने पटकपटक दोहोर्याए।
मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भइरहेको बताए। उनले सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भइरहने तर्क गरे।
Facebook Comment