भारतमा प्रहरीपछि वकिल आन्दोलित
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीस्थित रोहिनी जिल्ला अदालत अगाडि वकिलहरू आन्दोलित भएका छन्। गत शनिबार पार्किङका विषयलाई लिएर प्रहरी र वकिलबीच तीस हजारी अदालतअगाडि झडप भएको थियो। वकिलहरूले अन्याय गरेको भन्दै मंगलबार नयाँ दिल्लीस्थित हेडक्वाटर अगाडि प्रहरीले आफ्नो कामकाज छाडेर आन्दोलन गरेका थिए।
बुधबार फेरि वकिलहरूले नै प्रहरीविरुद्ध रोहिनी जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हुन्। वकिलहरूले झडपमा संलग्न प्रहरीलाई कार्बाहीको माग राखेका छन्। यस प्रदर्शनीमा दुई वकिलहरूले आत्महत्याको प्रयास समेत गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। एक वकिलले आफूमाथि मट्टितेल छर्केर आगो लगाउन खोज्दा सहकर्मीले बचाएको र अर्का वकिलले अदालतको भवन माथि चढेर हाम फाल्ने चेतावनी दिएको भारतीय प्रहरीले बताएको छ।
‘हाम्रो आन्दोलन ती प्रहरीसँग हो जसले हामीमाथि गोली र लाठीचार्ज गरे’ एक अधिकारीले एएनआइलाई भने, ‘उनीहरुलाई कारबाही नभएसम्म आन्दोलन रोक्दैनौं।’ शनिबारको झडपमा २० जना प्रहरी र ४० वकिल घाइते भएका थिए। आइतबार उच्च अदालतले दुई वरिष्ठ प्रहरी अधिकारीको सरुवा गरिदिएको थियो। साथै दुई प्रहरीलाई बर्खास्त गर्दै घाइतेको उपचार गरिदिन आदेश दिएको थियो। मंगलबार दिल्लीका प्रहरी प्रमुख अमुल्या पातनैको आग्रहमा प्रहरी कामकाजमा फर्किएका थिए।
Facebook Comment