भारतीय नक्शाबारे सत्तारुढ दल अझै मौन

डिसी नेपाल
२० कार्तिक २०७६ २०:०६

काठमाडौं। नेपाली भूमिसमेत आफ्नो दावी गर्दै भारले आफ्नो नयाँ नक्शा जारी गरेको बुधबार तीन दिनभइसक्दा पनि सत्तारुढ दुई दल भने यो विषयमा मौन रहेका छन्।

नक्शाका विषयमा प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेस, साझा पार्टी, नेमकिपा, राप्रपा, मोहन वैद्य निकटको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भारतको नयाँ नक्शा अस्वीकार्य भएको धारणा सार्वजनिक गरे पनि प्रधानमन्त्री केपी ओलीको दल नेकपा र उपप्रधानमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले भने पार्टीको औपचारिक धारणा बुधबार साँझसम्म सार्वजनिक गरेका छैनन्।

सरकारका तर्फबाट भने परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भारतले जारी गरेको एकपक्षी नक्शा अस्वीकार्य भएको बताइसकेको छ।

नेकपाले औपचारिक धारणा सावर्जनिक नगरे पनि सो पार्टीका नेताहरुले व्यक्तिगत धारणा भने सार्वजिनक गरिसकेका छन्। नेकपाका तर्फबाट सबैभन्दा पहिला स्थायी कमिटि सदस्य भीम रावलले यो विषयमा बोल्दै भारतीय अतिक्रमण अस्वीकार्य भएको बताएका थिए।

नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र काँग्रेस निकट नेपाल विद्यार्थी संघले भने बुधबार राजधानी प्रदर्शन गरेका छन्। नेकपाको धारणा बुझ्न पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग पटक पटक सम्पर्क गर्ने प्रयास भए पनि सफल भएन।

मधेशवादी राष्ट्रिय जनता पार्टीले पनि बुधबार साँझसम्म यो विषयमा बोलेको छैन। उता सरकारमा रहेको समाजवादी पार्टीले नबोले पनि सो पार्टीका संघीय परिषद सदस्य डा. बाबुराम भट्टराईले भने आफ्नो धारणा सार्वजनिक गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *