धार्मिक गुरुहरु प्रहरी कार्यालयमा
मुगु । जिल्लाको चारै स्थानीय तहका बस्तीमा बालविवाहको संख्यामा बृद्धि हुन थालेपछि बालविवाह न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालयले हिन्दु र लामा समुदायका धार्मिक गुरुहरुलाई सचेतना गराउन लागेको छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाका चारै स्थानीयतहका धामी, झाँक्री, बाहुन पुरोहित, ज्योतिष, र लामा सुमुदायका लामा, चुम्मा र मंगल गान गाउने महिलाहरु तथा लामा र हिन्दु समुदायका धार्मिक गुरुहरुलाई भेला गरी बुधबार बालविवाह न्यूनिकरण गर्न सचेतना अभियान शुरु गरिएको हो ।
उमेर नपुगेका बालबालिकाहरुको विवाह गर्न लगन, साईत तथा चिना हेराउनेदेखि विवाह मण्डपमा पुरोहितको काम गर्ने बाहुन, ज्योतिषि, धामी, झाँग्री, लामा र चुम्मा सहित मंगल गान गाउने महिलाहरुको मुख्य भूमिका हुने गर्छ । बालविवाह न्यूनिकरण गर्ने मुख्य भूमिका यिनै व्यक्तिहरुको भएकाले कानूनले बन्देज गरेका क्रियाकलापमा सहभागी नहुनका साथै उमेर पुगि सकेपछि मात्र विवाह गर्ने सल्लाह दिनका लागि चारै स्थानीय तहका यि व्यक्तिलाई बालविवाह सम्बन्धि सचेतना गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहले बताए ।
बालविवाह गरेको घट्ना प्रहरीमा अहिलेसम्म गएका छैनन । बालविवाहकै कारण बहुविवाह, घरेलु हिंसालगायत अन्य अपराधिक घटना घट्ने गरेका छन् । १४ वर्षको उमेर बालिका आमा भएका छन तिनै बालिकाले १६÷१७ को उमेरमा सौता खेप्नु परेको धेरै घट्ना गाँउमा छन् । गाउँघरमा बालविवाह गर्नेलाई कानूनी कारर्बाही हुने जानकारी भएको भए पनि बालविवाह गर्नेको संख्या प्रर्याप्त छ ।
अबदेखि बालविवाह गर्ने स्थानमा आफूहरुलाई बोलाई हाले त्यस्तो स्थानमा आफूहरु नजाने र प्रहरी तथा अन्य सरोकारवाला निकायलाई खबर गरी बालविवाह रोक्ने प्रयास आफूहरुले गर्ने सहभागि ब्रामण र धामी झाँग्रीहरुले प्रतिबद्धता गरेका छन् ।
आफूहरुसंग विवाह गर्न साईत र लगन हेराउन धेरै आउने गर्छन् । अबदेखि उनीहरुको जन्म दर्ता ल्याए मात्र विवाहको लागि लगन र साईत हेराउने काम गर्ने केटा केटी दुबैको जन्म दर्ता नल्याएर आउँछन् भने आफूहरुले त्यस्ता प्रकृतिका कुनै पनि कार्य नगर्ने ज्यातिषी भीमचन्द्र चौलागाईले बताए ।
जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी बालविवाह हुने छाँयानाथ रारा नगरपालिका पर्दछ । यो नगरपालिकाको सबै वडामा बालविवाह बढी हुने गरेको पाईएको हो । सोरु, खत्याड र मुगुम कार्मारोङ्गमा पनि बालविवाह हुने गरेकाले यसको विवाहमा सबैभन्दा बढी ब्रामण, धामी, झाँग्री, ज्योतिषी लामा, चुम्मा र मंगलगान गाउने महिलाहरुको सहभागिता हुने भएकाले बालविवाह सम्बन्धि यस्ता व्यक्तिलार्ई सचेतना गराएको हो । प्रहरी कार्यालयले बताएको छ ।
सचेतना कार्यक्रममा बालविवाह र बहुविवाहका असर, प्रभाव, दण्ड जरिवान र कानूनी प्रावधान बारे मल्टी मिडियाको प्रयोग मार्फत सहभागी धार्मिक तथा सामाजिक अगुवाहरुलाई भिडियो देखाईएको थियो ।
Facebook Comment