पहिलो एकदिवसीय खेलमा अफगानिस्तानमाथि वेष्ट इण्डिजको सहज जित
एजेन्सी । अफगानिस्तानविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा वेष्ट इण्डिजले जित निकालेको छ । भारतको लखनउमा बुधबार भएको खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।
अफगानिस्तानले दिएको १९५ रनको सामान्य लक्ष्य वेष्ट इण्डिजले ४६.२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । वेष्ट इण्डिजका लागि रोस्टन चेस र शाई होपले अर्धशतकीय इनिङ्स खेले । रोस्टनले ९४ रन बनाउँदा होप ७७ रनमा अविजित रहे । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४५ ओभर २ बलमा अलआउट हुँदै १९४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमत शाहले ६१ तथा इक्राम अलिखिलले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । अस्गर अफगान ३५ रनमा आउट भए । वेष्ट इण्डिजका जासन होल्डर, रोमारियो शेफार्ड र रोस्टन चेसले समान २–२ विकेट लिए ।
जितसँगै वेष्ट इण्डिजले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
Facebook Comment