प्रधानमन्त्री ओलीलाई प्रवासी नेपालीको मन छुने पत्र
प्रधानमन्त्री
केपी ओली ज्यू, नमस्कार ।
भारतले नयाँ नक्सा सार्वजनिक गरेको आज एक साता वितिसक्यो । त्यो नक्सामा नेपालको दार्चुला जिल्लाको साविकको व्यास गाविसमा पर्ने लिपुलेक भारतले आफ्नो देशको बनाएको छ ।
त्यसको विरोधमा सच्चा नेपालीहरु सुरुकै दिनदेखि विरोध प्रदर्शनमा उत्रिएका छन् । तर देशको सम्माननीय स्थानमा बसेको मान्छेबाट कुनै आवाज नसुन्दा एकदमै दुःखी भएका छौं । हामी फेरि पनि प्रधानमन्त्रीले चाँसो देखाइदिउन भन्ने आशावादी छौं ।
जुनबेला भारतले नाकाबन्दी गर्यो त्यो बेलामा तपाँईले राष्ट्रियताको विषयमा अडान लिएर वाह् वाह् पाउनु भएको थियो । त्यसरी नै हामी देश विदेशमा बस्ने नेपालीले साथ सहयोग गरेका थियौं र तपाँईको राष्ट्रियता उचाइमा पुगेको थियो । तर, आज पनि तपाईले त्यसरी अडान लिनु, कुटनीतिक पहल चाल्नु भएको भए हामीलाई विचल्लीमा परेजस्तो अवस्था आउने थिएन ।
हामी हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुराले रत्तिभर न्याय नपाउँदा त्यति नै दुखी छौं की जति दुखी तपाईको निजी स्वास्थ्यमा हुनुहुन्छ ।
हुन त प्रधानमन्त्री ज्यूको निजी स्वास्थ्यको विषयमा नबोल्नु पर्ने हो तर प्रशंग उस्तै आउँछ । प्रधानमन्त्री ज्यूले मिर्गौला गुमाएको पीडा भन्दा अनगिन्ती गुणा ठूलो पीडा आज हामी देश विदेशमा बस्ने नेपालीलाई भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा चाहिँ आम नेपालीको साझा मिर्गौला हो बुझिदिनुस् ।
राष्ट्रको कार्यकारी प्रमुख पदमा बस्नु भएको हुँदा यहाँले यति ठूलो सम्वेदनशील विषयलालाई नजरअन्दाज गरि मौनधारण गर्नु कायरताको पराकाष्ठा हो । यदि प्रधानमन्त्री ज्यूसंग कहिँ कतै इतिहास रच्न सक्ने साहस छ भने मौका परेको बेला चौका हान्न नविर्सिनुस् ।
हामीले देखेका छौं, सुनेका छौं । राष्ट्रियताको नाममा आफ्नै फोटो प्रदर्शनले केही हुँदैन । काठमाडौंको सडक गाडेका पोलहरुमा तस्वीर झुण्ड्याउँदैमा नयाँ युगको सुरुवात भएको हामी कदापी मान्न सक्दैनौं । नयाँ युगको सुरुवात त तब हुन्छ जब कालापानी र लिम्पियाधुराको विषयमा बोल्न तपाँँँँइको नाकाबन्दी ताकाको राष्ट्रवाद ब्युतनुपर्छ ।
भारतले शनिवार सार्वजनिक गरेको आफ्नो राजनैतिक नक्सामा हाम्रो कालापानी र लिम्पियाधुरा समावेश गरेपछि उक्त विषयमा केही दिन अघि मात्रै नेपालको परराष्ट्र मन्त्रालयको विज्ञप्ति सार्वजनिक भयो ।
विज्ञप्ति पनि एकदम निर्धो न आफैमा वजन छ नत साहस नै । हाम्रो सार्वभौमसत्ता र राष्ट्रिय भौगोलिक अखण्डताका खातिर ब्रिटिस साम्राज्यवाद र भारतीय विस्तारवादविरुद्ध हिजो रचिएको हाम्रा वीर पुर्खाहरुको वीरतालाइ झल्काउन नसक्नेले किन विज्ञप्ति जारी गर्नु?
समय अझै प्रशस्त छ हामीसंग । प्रधानमन्त्री ज्यू जनताले तिरेको करको केही प्रतिशत रकमले त देश जोगाइदिनुस् । बाँकी अतिक्रमित क्षेत्रमै गएर यी पौरखी पाखुराहरु बजार्ने र परि आए जीवन उत्सर्ग गर्ने नेपाली त छँदै छौं नी हामी ।
तपाइले कुटनैतिक तवरबाटै यस विषयलाई हल गर्नु भो भने इतिहासको एउटा पाना तपाइकै नाम छापिने छ। तर हिजो आज झै मौन बस्नु भो भने त केही भन्न सकिन्न । किनकी हामी बुझ्नेछौं मौनम् स्वीकृति लक्षणम् ११
तपाईको शुभचिन्तक
पुष्पराज रोकाया
ठेगाना : बझाङ्ग
हाल : भारत
Facebook Comment