टि–२० मा अस्ट्रेलियाले रच्यो इतिहास, २०१९ सालभरीमा एउटा खेल पनि हारेन

डिसी नेपाल
२३ कार्तिक २०७६ १०:३३

काठमाडौं। टि–२० क्रिकेटमा अस्ट्रेलियाले इतिहास बनाएको छ । उसले २०१९ सालभरीमा खेलिएका टि–२० अन्तर्राष्ट्रिय खेलमा एउटा पनि खेल नहारेर नयाँ इतिहास बनाएको हो । २०१९ मा अस्ट्रेलियाले भारत, पाकिस्तान र श्रीलंकासँग टि–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो ।

अस्ट्रेलियाले २०१९ को फेब्रुअरीमा भारतसँग टि–२० सिरिज खेल्यो । २ टि–२० को यो सिरिज उसले क्लिनस्विप गरेको थियो । अस्ट्रेलियाले भारतमै आएर खेलिएका २ टि–२० मध्ये फेब्रुअरी २४ मा विशाखापट्टनममा भएको पहिलो टि–२० मा भारतलाई ३ विकेटले हराएको थियो भने फेब्रुअरी २७ मा बैंगलोरमा भएको दोस्रो टि–२० मा भारतलाई ७ विकेटले हराएको थियो ।

त्यसपछि अस्ट्रेलियाले आफ्नै देशमा श्रीलंकासँग ३ टि–२० को सिरिज खेल्यो र यो सिरिज पनि क्लिनस्विप गर्यो । गएको अक्टोबर २७ मा एडिलेडमा भएको पहिलो टि–२० मा अस्ट्रेलियाले श्रीलंकालाई १३४ रनले हरायो । अक्टोबर ३० मा ब्रिस्बेनमा भएको दोस्रो टि–२० मा श्रीलंकालाई ९ विकेटले हरायो र नोभेम्बर १ मा मेलबर्नमा भएको तेस्रो टि–२० ७ विकेटले जित्यो ।

लगत्तै अस्ट्रेलिया र पाकिस्तानबीच ३ टि–२० को सिरिज सुरु भयो । नोभेम्बर ३ मा सिड्नीमा भएको पहिलो टि–२० वर्षाका कारण रद्द भयो । यद्यपि यो खेलमा पाकिस्तानले अस्ट्रेलियालाई जीतका लागि १५ ओभरमा मात्रै ११९ रनको लक्ष्य दिएकोमा अस्ट्रेलियाले ३ ओभरमै कुनै विकेट नगुमाइ ४१ रन बनाइसकेको थियो र खेल अस्ट्रेलियाको पक्षमा ढल्किसकेको थियो ।

त्यसपछि नोभेम्बर ५ मा क्यानबेरामा भएको दोस्रो टि–२० अस्ट्रेलियाले ७ विकेटले जित्यो र हिजो पर्थमा भएको तेस्रो टि–२० १० ओभरले जित्यो । अब २०१९ सालमा अस्ट्रेलियाको कुनै पनि टि–२० खेल बाँकी नभएकोले उसले यो साल टि–२० नहारेरै अघि बढ्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *