अयोध्या विवादः सर्वोच्च अदालतले हिन्दूको पक्षमा फैसला गरेपछि मुस्लिम पक्ष के भन्छन् ?
एजेन्सी। भारतको सर्वोच्च अदालतले दशकौंदेखि विवादित भारतको अयोभ्याको जमिनमा राम मन्दिर बन्ने फैसला सुनाएको छ । अदालतले मुस्लिम पक्षलाई मस्जिद बनाउन वैकल्पिक जमिन उपलब्ध गराउन पनि आदेश दिएको छ । १३४ वर्षसम्म विभिन्न अदालतमा चलिरहेको मुद्दामा सर्वोच्चले हिन्दूको पक्षमा फैसला सुनाएपछि यस विषयमा विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
फैसलापछि मुस्लिम पक्षका वकिल जफरयाब जिलानीले आफूहरुले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताए । मुस्लिम पक्षको तर्फबाट जिलानीले आम नागरिकसँग फैसलापछि शान्ति र कानुन व्यवस्था कायम राख्न आग्रह गरे । उनले भने ‘यो कसैको जीत वा हार होइन । हामी अगाडिको कारवाहीबारे निर्णय गर्नेछौं । फैसला हाम्रो अपेक्षा अनुरुपको आएको छैन ।’
उनका अनुसार अल इण्डिया मुस्लिम पर्सनल ल बोर्डको कार्यकारी बोर्डको बैठकपछि मात्र सर्वोच्चको फैसलाका विषयमा पुनर्विचारको याचिका दर्ता गराउने वा नगराउने भन्ने विषयमा निर्णय हुनेछ । उनले भने ‘अहिलेको आधारमा मलाई भने लाग्छ कि पुनर्विचार याचिका दर्ता गराउनुपर्छ ।’ उनले आफूहरुले न बराबरी पाएको न न्याय पाएको बताए ।
उनले अगाडि भने ‘फैलामा असहमति जनाउनु हाम्रो अधिकार हो । सर्वोच्च अदालत पनि कहिलेकाहीँ गलत हुन सक्छ । अदालतले पहिले पनि आफ्ना फैसलामा पुनर्विचार गरेको छ ।’ मुीसलम पक्षका अर्का अभियन्ता इकबाल अन्सारीले अदालतको फैसला वीकार गर्ने बताए । उनले भने ‘अब सरकारले फैसला गर्नुपर्छ कि ऊ हामीलाई जमिन कहाँ दिन्छ ?’
Facebook Comment