‘मिष्टर नेपाली’ आउँदो शुक्रबारदेखि
काठमाडौं। फिल्म ‘मिष्टर नेपाली’ आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
फिल्मले राष्ट्रियताको कथालाई कमेडी शैलीमा पस्केको छ। फिल्मलाई दर्शकले रुचाउनेमा निर्माण पक्ष पूर्ण विश्वस्त छ।
फिल्ममा देव भुषालको कथा तथा निर्देशन छ। उनी फिल्म उत्कृष्ट बनेको दाबी गर्दै दर्शकले रुचाउनेमा पूर्ण विश्वस्त देखिन्छन्। निर्देशक भुषाल भन्छन्, –‘फिल्मले देश तथा परदेश जहाँ रहेपनि आफ्नो कला, संस्कृति तथा गाउँ–ठाउँलाई विर्सनु हुँदैन भन्ने मूल मर्म बोकेको छ। दर्शकलाई फिल्म मनपर्नेमा पूर्ण आशावादी छौं।’
फिल्ममा अभिनेता भूवन केसी दोहोरो भूमिकामा प्रस्तुत छन्। त्यस्तै ‘मिष्टर नेपाली’मार्फत साहिल श्रेष्ठ र कुसुम राउतले फिल्म उद्योगमा डेब्यू गर्दैछन्। फिल्मलाई लिएर दुवै उत्साहित देखिन्छन्। फिल्ममा साहिल धेरै वर्षपछि विदेशबाट आफ्नो देश नेपाल फर्किएको युवकको भूमिकामा छन्। त्यस्तै कुसुम आत्मनिर्भर गाउँले युवतिको भूमिकामा छिन्। दुवै डेब्यू कलाकार फिल्मले रमाईलो तरिकाले गहन सन्देश समेत प्रवाह गरेको बताउँछन्।
फिल्ममा सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, रीमा विश्वकर्मा, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय छ।
देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता प्रेमराज दाहाल हुन्। फिल्ममा सुवास भुषाल र दिपक शर्माको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी छ। निरज कँडेलको छायांकन रहेको फिल्म सम्पादनको जिम्मेवारी जिवन थापाले निर्वाह गरेका छन्।
Facebook Comment