प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

डिसी नेपाल
२४ कार्तिक २०७६ १४:३२

काठमाडौं। निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्दैछ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका उम्मेदवारहरुको अन्तिम नामावली आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रकाशित गर्ने कार्यक्रम रहेको जानकारी दिए। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत कातिक २१ गते ६५ जनाले उम्मेदवारी दिएका छन्।

उनीहरुको अन्तिम नामावली आज अपरान्ह पाँच बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ। प्रवक्ता श्रेष्ठले भोली(सोमबार) बिहान ११ गतेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको जनाए। यता, स्थानीय तहको निर्वाचनका लागि भने आगामी कातिक २७ गते बुधबार विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन हुनेछ।

आयोगले सो उपनिर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम भने मंसीर ५ गतेदेखि ११ गतेसम्म संचालन गर्दैछ। आयोगका प्रवक्ता श्रेष्ठका अनुसार मतदाता शिक्षाका लागि प्रत्येक वडामा २ जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिनेछ। नमुना मतदान समेत गरेर सो उपनिर्वाचनको मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने आयोगको तयारी छ।

आगामी मंसीर १४ गते रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेश सभा सदस्य–३ तथा स्थानीय तहहरु समेत गरेर ३७ जिल्लाको ५२ स्थानमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो उपनिर्वाचनमा आ–आफ्नो मतदाता परिचय पत्र लिएर भाग लिन पनि मतदाताहरुलाई आह्वान गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *