चीनका बैंकले ६८ करोड डलर नतिरेको मुद्दा हालिदिएपछि अनिल अम्बानी संकटमा
एजेन्सी। चीनका तीन बैंकले भारतका उद्योगपति अनिल अम्बानीविरुद्ध लण्डनको अदालतमा मुद्दा दायर गरेका छन् । मिडिया रिपोर्टका अनुसार द इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना (आइसीबीसी), चाइना डेभलपमेन्ट बैंक र इम्पोर्ट बैंक अफ चाइनाले अम्बानीविरुद्ध मुद्दा दायर गरेका हुन् ।
यी बैंकहरुले दावी गरेअनुसार उनीहरुले अनिल अम्बानीको निजी ग्यारेन्टीको शर्तमा उनको कम्पनी रिलायन्स कम्युनिकेसन्स (आरकम)लाई २०१२ मा ९२.५२ करोड डलर ऋण दिएका थिए । आरकमले फेब्रुअरी २०१७ मा ऋण तिर्ने अन्तिम म्याद दिएको थियो । तर कम्पनीले तोकिएको समयमा सबै ऋण तिर्न सकेन । अहिले आरकमले ६८ करोड डलर अझै तिर्न बाँकी छ ।
अर्कोतर्फ अनिल अम्बानीका वकिल रोवर्ट हवले भने अदालतमा अनिल अम्बानीले निजी ग्यारेन्टी कहिल्यै नदिएको दावी गरेका छन् । हवले अदालतमा अम्बानीले बिना शर्तको पर्सनल कम्फर्ट लेटर दिने सहमति दिएको तर आइसीबीसीले अम्बानी र ऋण लिने कम्पनीबीचको फरक बुझ्न असफल भएको दावी गरे । स्मरण रहोस् कम्फर्ट लेटरको माध्यमबाट यो भरोसा दिलाइन्छ कि कम्पनी वित्तिय वा अनुबन्धसँग जोडिएका जिम्मेवारी पूरा गर्नेछ तर यो लेटरमा कानुनी बाध्यता हुँदैन ।
Facebook Comment