बांगलादेशविरुद्ध भारतलाई टी–ट्वान्टी श्रृंखला

डिसी नेपाल
२४ कार्तिक २०७६ २३:१८

नयाँ दिल्ली (एजेन्सी) । आइतबार बांगलादेशविरुद्धको अन्तिम टी–ट्वान्टी खेल जित्दै भारतले ३ खेलको श्रृंखला २–१ ले जितेको छ।

आइतबार नागपुरमा भएको खेलमा भारतले बांगलादेशलाई ३० रनले पराजित गर्यो। १७५ रनको लक्ष्य पाएको बांगलादेशलाई भारतले १४४ रनमै अलआउट गर्दै अन्तिम तथा निर्णाक खेलमा जित हात पारेको हो।

भारतको जितमा दिपक चाहरले घातक बलिंग गरेर टी ट्वान्टी करिअरकै उत्कृष्ट बलिंग गरेका उनले ३ ओभर २ बलमा ७ रन दिएर ६ विकेट लिए। चाहर टी ट्वान्टी क्रिकेटमा सबैभन्दा राम्रो स्पेल बलिंग गर्ने कीर्तिमानी खेलाडी बनेका छन्। यसअघि यो रेकर्ड श्रीलंकाका अजिन्था मेण्डिसको नाममा थियो। उनले ८ रन दिएर ६ विकेट लिएका थिए। चाहरले यो कीर्तिमान आफ्नो नाम लेखाएका हुन्।

भारतका लागि शिवम दुबेले पनि तीन विकेट लिए। यस्तै युजवेन्द्र चहलले एक विकेट लिए।

बांगलादेशका लागि तेस्रो खेल खेलिरहेका युवा ब्याट्सम्यान मोहम्मद नइमले ४८ बलमा ८१ रनको उत्कृष्ट इनिंग खेले पनि अन्य ब्याट्सम्यानको साथ नपाउँदा टिमलाई जित दिलाउन सकेनन्। बंगादेश १९ ओभर ३ बलमा १४४ रन बनाउँदा अलआउट भयो।

यसअघि टस हारेर पहिला ब्याटिंगका लागि निम्त्याइएको भारतका लागि केएल राहुल र श्रेयस यैय्यरले अर्धशतकीय इनिंग खेले। राहुलले ३५ बलमा ५२ रन बनाए भने यैय्यरले ३३ बलमा ६२ रन बनाए।

यसअपघि दिल्लीमा भएको पहिलो खेलमा बांगलादेश विजयी भएको थियो भने राजकोटमा भएको दोस्रो खेल भारतले जितेको थियो।
अब भारत र बांगलादेशबीच टेष्ट श्रृंखला शुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *