‘घामड शेरे’को कमजोर ओपनिङ, राम्रो ‘वर्ड अफ माउथ’

डिसी नेपाल
२५ कार्तिक २०७६ ११:१९

काठमाडौं। कार्तिक ८ मा प्रदर्शनमा आउनुपर्ने फिल्म ‘घामड शेरे’ अन्तिम समयमा आएर कार्तिक २२ सर्यो। मल्टिप्लेक्स हलमा अपेक्षाभन्दा कम सोज पाएपछि निर्माण टिमले फिल्म दुई हप्ता पछाडि सारेको थियो।

कार्तिक २२ गतेका लागि फिल्मले मल्टिप्लेक्समा राम्रो सोज पायो। मल्टिप्लेक्स चेन अन्तर्गत क्यूएफएक्समा फिल्मले देशभर २९ सोज पाएको थियो। गत शुक्रबारबाट यो फिल्म प्रदर्शनरत छ।

फिल्मले गीत र ट्रेलरबाट राम्रो रेस्पोन्स पाएको थियो। अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको ‘रियल जोडी’ले पहिलोपटक फिल्ममा संगै अभिनय रहेका कारण पनि ओपनिङ राम्रो हुने निर्माण टिमको अपेक्षा थियो। त्यसमाथि कार्तिक २२ का लागि मल्टिप्लेक्समा राम्रो सोज पाएका कारण ओपनिङ व्यापार आक्रामक हुनेमा निर्माण टिम थप आशावादी थियो। तर, त्यसो भएन्।

फिल्मको ओपनिङ निर्माण टिमको अपेक्षाभन्दा उल्टो रह्यो। फिल्मको ओपनिङ ब्यापार नखुलाएपनि अपेक्षाकृत हुन नसकेको निर्देशक हेमराज बिसी स्वयंम स्वीकार्छन्। ‘अपेक्षा अलि बढी भएर पनि होला ओपनिङ हामीले सोँचेजस्तो भएन’ उनी भन्छन् –‘तर वर्ड अफ माउथ अत्यन्तै राम्रो पाएका छौं, त्यसमा खुःसी छौं।’

उनी प्रदर्शन मिती फेरबदल भएका कारण त्यसको असर ओपनिङ ब्यापारमा देखिएको हुनसक्ने अनुमान गर्छन्। अर्को चाडपर्व सकिएपछि फिल्म प्रदर्शनमा आएका कारण पनि केही असर परेको देख्छन्। यद्यपी सबैतिरबाट राम्रो प्रतिक्रिया पाएका कारण व्यापार बढ्दै जानेमा आशावादी देखिन्छन्।

आफूले किनेको जग्गा खोलाले बगाएपछि सोही खोला विरुद्ध मुद्दा हाल्ने एक पात्रको कथामा केन्द्रित फिल्ममा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन्। निश्चलको श्रीमतीको भूमिकामा भने सुष्मा निरौलाको अभिनय छ। त्यस्तै गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको फिल्ममा अभिनय छ।

फिल्मलाई कलाकारले पनि राम्रो प्रतिक्रिया दिएका छन्। त्यस्तै समीक्षकबाट भने फिल्मले औसत प्रतिक्रिया पाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *