भारतसँगको सीमा समस्या हल गर्न निर्देशन

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:१६

काठमाडौं। संसदीय समितिले भारतले अतिक्रमण गरेका कालापानीलगायतका सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानीलगायतका भूभाग मिचिएको निष्कर्ष निकाल्दै सो समस्या समाधानका लागि तत्काल उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको हो।

समितिको बैठकले सो समस्या समाधानका लागि राष्ट्रिय एकताका साथ अघि बढन पनि सबै राजनीतिक दल र सामाजिक संघ, संस्थालाई आह्वान गरेको पनि समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले दुई मुलुकबीचको सीमामा देखिएका समस्या समाधान गर्न दुई मुलुकबीचको सीमा सुरक्षा बलको बैठक मंसीर पहिलो हप्ता बोलाइएको जानकारी समितिलाई गराएका थिए।

उनले सरकारले विगतमा देखा पर्ने गरेका दुई मुलुकबीचको सीमा समस्या समाधान गर्दै आएको उल्लेख गर्दै हाल देखा परेका सीमा समस्या समाधानका लागि सुरक्षाका दृष्टिले आवश्यक पहल गरिरहेको पनि बताए।

यता, समितिका सदस्यहरुले भारतले नेपाली भूमि मिच्ने क्रमलाई निरन्तरता दिएको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि राजनीतिक तहमा पहल गर्न सरकारलाई सचेत गराएका थिए।

समितिकी सदस्य पम्फा भुषालले भारतले नेपाली भूमि मिच्ने काम गरेकोमा आफूहरुलाई सैह्य नहुने उल्लेख गर्दै ती समस्याको दीर्घकालीन समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।

बैठकमा समितिका सदस्यहरुले नेपालको सार्वभौमिकताको रक्षा गर्ने काममा दृढतापूर्वक अघि बढन पनि सरकारलाई दवाव दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *