नेपाल भ्रमण वर्ष र पर्यटन व्यवसायीको भूमिका

डिसी नेपाल
२५ कार्तिक २०७६ १९:२८

नेपाल पर्यटन भ्रमण वर्ष सुरु हुन करिब १ महिना मात्र बाँकी छ । यो अवधीभर नेपाल सरकार तथा सम्बन्धित सबै सरोकारवाला निकायहरुले भ्रमण वर्षको तयारी सम्पूर्ण गरिसक्नु पर्ने छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ तयारी गरिरहेको सरकारले आएका पर्यटक पनि अलपत्र नपरुन् भनेर सबै निकायहरु लागि परेका छन् ।

१ वर्षको अवधीमा २० लाख पर्यटक भित्रदा करिब दैनिक साढे ५ हजार पर्यटक नेपाल भित्रनेछन् । दैनिक रुपमा आएका पर्यटकलाई सरकार, भ्रमण वर्ष सचिवालय तथा अन्य निकायले व्यवस्थित गर्न नसकेमा देशकै नैतिकतामा आँच आउने निश्चित छ । अन्य निकायले भ्रमण वर्षको तयारीलाई दौडधुप गर्दा पनि सरकारले सम्पदा पूनर्निर्माणमा पनि अन्यौलता देखाएको छ । आर्थिक सम्बृद्धिको लक्ष्यका साथ आयोजना गरेको भ्रमण वर्षमा नेपालका सम्पदाहरु देखाउँदैमा मात्र पनि नेपाल धनी बन्ने निश्चित छ । तर त्यसका लागि राज्य तर्फबाट व्यवस्थापन पक्षमा जोड दिनुपर्यो ।

जुनसुकै मुलुकको आर्थिक विकास तथा समाजको संरचनात्मक परिवर्तनका लागि आर्थिक स्रोतको आवश्यक पर्दछ । कुनै पनि मुलुकको आर्थिक स्रोत त्यस देशमा उत्पादित वस्तुहरु र तिनको विश्व बजारमा निर्यात गर्न सकेमा त झनै प्रत्यक्ष देशलाई लाभ हुन्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पनि अर्थतन्त्रमा पर्यटन क्षेत्र नै नै धानेको स्पष्ट छ । नेपालको ‘गहना’ को रुपमा हेरिएको हिमाल तथा अन्य सम्पदाले नै अर्थतन्त्रमा ठूलो टेवा पुर्याएको छ ।

नेपालको अर्थतन्त्रलाई सुधार गर्ने हो भने सम्बन्धित सबै निकायले आफ्नो जिम्मेवारी गम्भिर तरिकाले पुरा गर्नुपर्छ ।

पर्यटन व्यवसायीको भूमिका

सरकारले सुरु गर्न लागेको नेपाल पर्यटन भ्रमण वर्षमा आम व्यवसायीको धेरै ठूलो महत्व रहेको छ । आएका पाहुनाहरुको सत्कारदेखि चौतर्फी घुमफिर गराउने काम व्यवसायीको नै छ । २० लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपाल भ्रमण वर्षमा होटल व्यवसायी, पर्यटन व्यवसायी, पर्वतारोहण व्यवसायी, ट्रेकिङ्ग व्यवसायीले आ आफ्नो क्षेत्रको जिम्मेवारीमा कटिबद्ध भएर अघि बढ्ने हो भने यो वर्षमा मात्र होइन आउँदो वर्षहरुमा पनि पर्यटकको संख्या बढ्ने निश्चित देखिन्छ ।

सरकारले आफ्नो तर्फबाट सुरक्षा तथा अन्य मार्गहरुको उचित व्यवस्था गरोस्, शहरी क्षेत्रमा सडकको अवस्था सुधार, ग्रामीण भेगमा गोरेटो घोरेटो बाटो र हिमाली क्षेत्रमा सहज पैदल यात्राका लागि बाटो, व्यवसायीले पर्यटकलाई लोभ्याउने वातावरण बनाएमा पर्यटकहरु बढ्दै जानेछन् । यो भ्रमण वर्ष पनि सफल हुनेछ ।

नेपाल कृषि प्रधान देश भएकोले पनि कृषि मैत्री नीतिको अभाव र वैज्ञानिक भूमि सुधार लागू गर्न नसक्दा कृषि व्यवसायबाट प्रर्याप्त लाभ लिन सकिएको छैन । सरकारले त्यो क्षेत्रमा पनि ध्यान देओस् ।

पर्यटन क्षेत्र नेपालको साझा व्यवसाय हो । यहाँका धेरै मानिसहरु पर्यटन क्षेत्रमा संलग्न हुनुका साथै आत्मनिर्भर पनि हुँदै गएका छन् । पर्यटकलाई सेवा दिनका लागि सहरी क्षेत्रमा सुविधा सम्पन्न होटलहरु सञ्चालन गरिएका छन् । त्यस्तै ग्रामीण भेगमा पनि होटल तथा होमस्टेहरु सञ्चालनमा छन् ।

विदेशी पर्यटकहरु नेपाली परिवेशमा रमाउन, नेपाली कला र संस्कृतिमा पनि विशेष रुचि राख्दछन् । त्यो वातावरण पनि निर्माण गर्न जरुरी छ । पर्यटकसँगै नेपालको उत्पादित वस्तुलाई निर्यात गर्ने हो भने पनि ग्रामीण क्षेत्रको उत्पादनलाई उचित व्यवस्थापन गरिनु पर्छ ।

स्थानीय उत्पादनलाई नेपाल भ्रमणमा आएका पर्यटक माझ पुर्याउन सके नेपालको आर्थिक विकास र आर्थिक वृद्धिमा समेत ठूलो उपलब्धि हुने देखिन्छ ।

स्वदेशमा उत्पादित वस्तुलाई पर्यटन बजारसम्म पुर्याउन सम्पूर्ण नेपालीहरुले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सके समग्र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । सरोकारवाला निकायले यो विषयमा सबैलाई समेट्न उपयुक्त नीति निर्माण गरि ग्रामीण क्षेत्रमा लागू गर्नु पर्दछ । जसले गर्दा स्थानीय उत्पादनले राम्रो बजार पाउनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने कुरामा दुई मत छैन ।

नेपालमा पर्यटकको आकर्षण

नेपाल एसिया महादेशमा अवस्थित सानो देश हो । पृथ्वीनारायण शाहले दुई ढुंगा बीचको तरुल भनेको नेपालमा अनेक सम्भावना र प्राकृतिक सम्पदाले गर्दा नेपालको पहिचान विश्वमै दुर्लभ छ । आन्तरिक हुन् या बाह्य पर्यटक सबैको निम्ति नेपालको विविधता पहिलो प्राथमिकतामा पर्ने गर्दछ । हिमाल पहाड र तराईले सुसज्जित नेपाल विविधताको भण्डार नै मानिन्छ ।

छोटो दुरीको बीचबीचमा पाइने फरक फरक मौसम प्राकृतिक विविधता र अनुपम दृश्यहरु यहाँको महत्वपूर्ण विशेषता हुन् । विदेशी पर्यटकका लागि नेपालको पहिलो आकर्षण भनेको यहाँको प्राकृतिक विविधता हो । संसारको सर्वोच्च शिखर सगरमाथा र शान्तिको प्रतीक गौतम बुद्ध आकर्षणका केन्द्र विन्दु हुन् । ती बाहेक यहाँका विभिन्न जातजातिका आ–आफ्नै खालका संस्कृति, रहनसहन, रितिरीवाज, विभिन्न धार्मिक तीर्थस्थलहरुले पर्यटकहरुले आकर्षण गर्ने गर्दछन् ।

विदेशी पर्यटकहरु काठमाडौं उपत्यकामा प्रवेश गर्ने वित्तिकै नेपालको विविधतालाई छर्लंग नियाल्न पाउँछन् । चारैतिर हरियाली पहाड, उत्तरमा जुगल हिमालको मनोरम दृश्य, विश्व सम्पदा सूचीमा सूचीकृत उपत्यका, ७ प्रमुख सम्पदाहरु, प्राचिन दरवार, मठ मन्दिर अनि कला संस्कृतिमा धनी, मौलिक नेवारी परम्परा आदिले जो कोहीलाई पनि लोभ्याएकै हुन्छ ।

नेपालमा विश्वभरका पर्यटकहरुका निम्ति प्रमुख गन्तव्य बन्न पुगेको छ । यहाँ धार्मिक पर्यटकका लागि प्रसिद्ध धार्मिक देवस्थल, बौद्ध धर्मालम्बीहरुका लागि बौद्ध तीर्थस्थल, जातीय अध्ययनका लागि अनेक जातका मौलिक परम्परागत रहनसहन तथा साँस्कृतिक कार्यक्रमको अवलोकन, साहसिक यात्राको लागि प्रसिद्ध पदयात्रा, जलयात्रा, बन्जीजम्प, प्याराडाग्लाइडिङ तथा विविध मनोरञ्जनात्मक गतिविधिहरु सञ्चालित छन् ।

नेपालमा पर्यटकको भ्रमणका लागि १२ महिना उपयुक्त मौसम मानिन्छ । नेपालको भूगोल सानो भए पनि विविधताले निकै ठूलो छ । नेपालको भूगोल समुन्द्री सतहबाट ५९ मिटर अग्लो केचनाकवलदेखि संसारकै अग्लो हिमाल ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको भूभाग पनि नेपालमै छ ।

राजधानी काठमाडौंदेखि करिब ३० मिनेट हवाईमार्ग वा करिब ३÷४ घण्टाको सडक मार्ग हुँदै हिमाल भेग वा तराईका फाँटहरुसम्म पुगिन्छ । त्यस्तै मौसम पनि छ । नेपालको मौसमलाई ६ भागमा विभाजन गरिएको छ । जसलाई हामी ऋतु भन्दछौं । वसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर गरी ६ भागमा विभाजन गरिएको मौसमले नेपाललाई चिनाउने गर्दछ ।

नेपाल अरु देशमा भन्दा भिन्नै रमणीय देश हो । यहाँ बाह्रै महिना घुम्न योग्य ठाउँहरु छन् । विशेषगरी पर्यटकीय दृष्टिकोणले नेपाललाई असोजदेखि मंसिरसम्म र फागुनदेखि बैशाखसम्मको सिजनलाई हिमश्रृखला चढ्नका लागि उपयुक्त मौसम मानिन्छ । यो बेलामा प्रकृतिले पनि काँचुली फेर्ने भएकाले जताततै हरियाली दृश्यले मनै लोभ्याउँछ । यो समयमा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न कुनै बाधा अवरोध सिर्जना नहुने, पानी नपर्ने, हिमाली भेगमा हिउँपहिरो नजाने भएकोले यो समय हिमश्रृखला चढ्नका लागि एकदमै उपयुक्त मानिन्छ । यो बेलामा मात्र होइन अरु महिनामा पनि खासै असर नपर्ने र बाह्रै महिना घुम्न योग्य देखिन्छ ।

कुनै पनि नयाँ ठाउँ वा देशको भ्रमणले मानिसमा सकारात्मक परिवर्तन हुनुका साथै बौद्धिक विकास पनि हुने गर्छ । मानिसलाई प्राकृतिक विविधता तथा मानव निर्मित भौतिक सुन्दरताले पर्यटकहरुलाई घुम्नका लागि लालायित बनाउँदछ ।

लेखक : होटल तथा पर्यटन व्यवसायी संघ, प्रदेश नं ३ का सदस्य, भिआइपी थकाली रेष्टुरेन्ट तथा हिमालयन अर्गानिक बनेपा काभ्रेका सञ्चालक हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *