इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

डिसी नेपाल
२५ कार्तिक २०७६ २१:५७

वाशिङ्टन (रासस/एएफपी) । इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरूलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो । इराकमा निर्वाचनको माग गर्दै यहाँका नागरिकले आन्दोलन गरिरहेका छन् । सो आन्दोलन हिंसात्मक भएकाले प्रहरी कारबाहीमा प्रदर्शनकारीको ज्यान पनि गएको छ ।

उनीहरूले निर्वाचनको माग गरेर आन्दोलन गरेकाले आन्दोलनकारीहरूको माग पूरा गर्न समय अगावै आमनिर्वाचन गर्न अमेरिकाले आग्रह गरेको छ । आइतबार प्रकाशन गरिएको विज्ञप्तिमार्फत अमेरिकाले यस्तो आग्रह गरेको हो । यसबाट हिंसा पनि रोकिने भन्दै हिंसात्मक गतिविधिको नियन्त्रणका लागि पनि निर्वाचन आवश्यक रहेको अमेरिकाको माग रहेको छ । निर्वाचनमार्फत आन्दोलनकारीको माग पूरा गरी शान्तिपूर्ण राजनीतिक व्यवस्थापन गर्न अमेरिकाले माग गरेको हो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– अमेरिका इराकमा त्यहाँका राष्ट्रपति बरहाम सालेहको यसअघिको प्रतिबद्धता पनि पूरा गर्न माग गर्दछ । त्यहाँ आन्दोलनका क्रममा आन्दोलनकारी, नागरिक समाजका व्यक्ति, शान्तिपूर्ण रूपमा आफ्नो माग राख्ने व्यक्तिहरू, सञ्चारमाध्यम तथा नागरिक अधिकारकर्मीहरूमाथिको निरन्तरको आक्रमणप्रति अमेरिका गम्भीर छ– सो विज्ञप्तिमा भनिएको छ ।

यसैगरी इराकले यहाँका सञ्चारमाध्यमहरूमाथि आक्रमण गर्ने तथा इन्टरनेटमा लगाएको प्रतिबन्धको घटनाको अमेरिकाले निकै नजिकबाट नियालीरहेको पनि सो विज्ञप्तिमा बताइएको छ । यहाँका राजनीतिक दलहरूबीचमा राष्ट्रिय सहमतिको निर्माण गर्न सकेमा हाल जारी रहेको आन्दोलनको अन्त्य हुन सक्ने भन्दै यसका माध्यमबाट निर्वाचनको प्रक्रियामा जान अमेरिकाले आग्रह गरेको हो ।

इराकी संसदको मानवअधिकारसम्बन्धी समितिले यहाँ जारी रहेको आन्दोलनबाट कम्तीमा पनि ३१९ जना नागरिकको ज्यान गएको जनाएको छ । उक्त समितिले आन्दोलनका क्रममा भएको यो हिंसाको अन्त्यका लागि सरकारसँग आग्रह पनि गरेको छ । यहाँ संसद्को निर्वाचनका लागि गएका कैयौँ दिनदेखि आन्दोलन जारी रहेको छ । प्रदर्शनकारीहरूले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *