नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्यायो
काठमाडौं। नेपाल बैंक लिमिटेडले ‘ग्रिन सेभिङ निक्षेप योजना’ ल्याएको छ। नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३ औं वार्षिकोत्सवको अवसर पारेर आगामी कार्तिक ३० गतेदेखि लागू हुने गरी सो योजना ल्याएको हो।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले यस योजनाबाट संकलित भएको रकम नविकरणीय उर्जा र वातावरण मैत्री क्षेत्रमा लगानी गर्ने जानकारी दिए। न्यूनतम २५ हजारमा बचत खाता खोली यो निक्षेप योजनामा सहभागी हुन सकिनेछ।
उक्त योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले ६ दशमलव ५ प्रतिशत व्याजदर उपलब्ध गराउने आकर्षक योजना पनि तय गरेको छ। बैंकका प्रवक्ता अधिकारीले सो योजनामा सहभागी हुने निक्षेपकर्तालाई बैंकले निःशुल्क एटिएम कार्ड, ५० हजारसम्मको औषधि उपचारको व्यवस्था तथा ५० लाखसम्मको दुर्घटना विमालगायतका सेवा उपलब्ध गराउने व्यवस्था पनि गरिएको बताए।
त्यसैगरी बैंकले आफ्नो ८३ औं स्थापना दिवसको अवसर पारेर ‘सुलभ अवास कर्जा योजना’ पनि सार्वजनिक गर्ने तयारी गरेको छ। आफनै जग्गामा घर निर्माण गर्न तथा घर मर्मत, संहार गर्न सो योजना १ प्रतिशत व्याजदरमा लागू हुने पनि बैंकले जनाएको छ।
बैंकको ८३ औं स्थापना दिवस आगामी कार्तिक ३० गते काठमाडौंमा हुँदैछ।
Facebook Comment