राष्ट्रपति हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

डिसी नेपाल
२७ कार्तिक २०७६ १४:४७

काठमाडाै‌ं। चार दिने नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज शिष्टाचार भेट गरेका छन्।

भेटमा दुई देशबीच आपसी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सो क्रममा राष्ट्रपति हमिदले बदलिँदो परिस्थितिमा कसरी सहयोग र सहकार्य गर्न सकिन्छ भन्ने विषयमा मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल र बङ्गलादेश विकास र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढिरहेको प्रसङ्ग जोड्दै राष्ट्रपति हमिदले चुनौती सामना गर्न साझारूपमा लाग्नुपर्नेमा जोड दिए। नेपालको परिवर्तन र शान्ति प्रक्रियामा अध्यक्ष प्रचण्डले निर्वाह गरेकाे भूमिकाको उनले खुलेर प्रशंसा गरे। नेपालले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा निर्वाह गरेको भूमिकाको समेत उनले सराहना व्यक्त गरेकाे रिजालले सञ्चारकर्मीलाई जानकारी दिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिने औपचारिक सद्भावना भ्रमणका लागि उहाँ मङ्गलबार आएका हुन्। उनले मङ्गलबार नै भक्तपुरको दरबार स्क्वायरकोे स्थलगत अवलोकन भ्रमण गरेका थिए।

उनले आजै नेपाली समकक्षी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गर्दै छन्। बिहीबार उहाँले पर्यटकीय क्षेत्र पोखराको भ्रमण गर्दै छन् भने काठमाडौँ चन्द्रागिरिको समेत भ्रमण गर्ने कार्यतालिका छ। उनी भ्रमण सम्पन्न गरी कात्तिक २९ गते स्वदेश फर्किने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *