भिआईपीको लागि तोकिएको मापदण्ड पूर्ण पालना गर्न मन्त्री भट्टराईको निर्देशन

डिसी नेपाल
२७ कार्तिक २०७६ १६:५५

काठमाडौं । सरकारले भिआईपी सुविधा प्रयोगका लागि तोकिएका मापदण्डको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा आफूलाई सानो नठान्न पनि सांसद, मन्त्रीहरुलाई आग्रह गरे ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा सांसदहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरुले आफूहरुमाथि हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए ।

त्यसको जवाफ दिने क्रममा मन्त्री भट्टराईले सांसद, मन्त्रीहरुले पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीलाई थर्काउने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न आग्रह गरे । उनले सो विमानस्थलको भिआईपी कक्षको प्रयोगको विषयलाई आफ्नो प्रतिष्ठासँग जोडेर सांसदहरुले हेर्न नहुने पनि स्पष्ट पारे ।

मन्त्री भट्टराईले आफूले मन्त्री हुनु अघि कहिल्यै पनि सो विमानस्थलको भिआईपी कक्षको प्रयोग नगरेको दृष्टान्त पनि समितिको बैठकमा प्रस्तुत गरे ।

बैठकमा सांसदहरुले विमानस्थलका कर्मचारीहरुले आफूहरुलाई हेपाहा प्रवृत्ति देखाएको गुनासो गरेका थिए । आफूहरुमाथि विमानस्थलका कर्मचारीहरुले पियनको जस्तो व्यवहार गर्ने गरेको भन्दै सांसदहरुले आक्रोश पनि व्यक्त गरेका थिए ।

राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अग्रहरीले विमानस्थलमा अभद्र व्यवहार गरेको भन्दै पार्टीका सांसद प्रमोदकुमार यादवमाथि मुद्दा चलाइएको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *