महोत्तरीमा ४६ जनाको उम्मेदवारी दर्ता
महोत्तरी । तीन स्थानीय तहका चार पदका लागि महोत्तरीमा ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
पिपरा गाउँपालिकाको अध्यक्ष पदमा २० जनाको मनोनयनपत्र दर्ता (उम्मेदवारी) दर्ता भएको छ ।
त्यसैगरी बलवा नगरपालिकाका वडा नं २ र ८ एवं मटिहानी–८ का वडाध्यक्ष पदमा समेत २६ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
पिपरा गाउँपालिकामा ११ राजनीतिक दलका र नौ जना स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बलवा–२ को वडाध्यक्षमा आठ जना, बलवा–८ को वडाध्यक्षमा १२ जना र मटिहानी–८ को वडाध्यक्षमा छ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उमेगाउँपालिको अध्यक्ष पदका लागि २० जनाले उम्मेदवारी दिएका छन् । बलवा नगरपालिका– २ को वडाध्यक्षका लागि आठ जना, वडा नं ८ का लागि १२ जना र मटिहानी नगरपालिका– ६ को वडाध्यक्ष पदका लागि छ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
पिपराका निर्वाचित अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाअध्यक्ष सञ्जयकुमार मण्डलले राजिनामा दिएर रिक्त भएको पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
जिल्लाका तीन स्थानीयतहमा हुने उपनिर्वाचनमा १९ मतदानस्थल र २९ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीेले जनाएको छ ।
यो उपनिर्वाचनमा महोत्तरीका २२ हजार ९२० मतदाताले मताधिकार प्रयोग गर्न पाउने जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पुष्पा झाले जानकारी दिए ।
आउने मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाइएको र सबैले निर्धक्क भएर मतदान गर्नसक्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । (रासस)
Facebook Comment