चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

डिसी नेपाल
२८ कार्तिक २०७६ १३:११

रुपन्देही। चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय : नेताहरुको बोली नै बन्द हुन्छ। कतिपय नेताको शिर निहुरिन्छ। केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन्।

तर, रुपन्देहीमा भने त्यस्तो भएन। चुनावी प्रतिबद्धताको समीक्षासहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिन उपस्थित भएका यहाँका नेताले शिर ठाडो पारेर बोले। नेताहरुले चुनावी प्रतिबद्धताअनुरुप भइरहेका विकासे आयोजनाको फेहरिस्त जनता सामु राख्दा यहाँका सर्वसाधारण खुशी हुँदै ताली बजाए।

नमस्ते नेपाल नामक संस्थाले बुधबार साँझ शङ्करनगरमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा रुपन्देही क्षेत्र नं– २ का सांसद विष्णु पौडेल, क्षेत्र नं २ का प्रदेशसभा सदस्य लीला गिरी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई निम्ता गरिएको थियो।

कार्यक्रममा आयोजकले चुनावअघि जनतासामु गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो भनेर प्रश्न गर्दा सांसद विष्णु पौडेलले आफूले सम्पन्न गरेका कामको लामो सूची प्रस्तुत गरे।

गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको प्रगतिदेखि भैरहवा बुटवल ६ लेन सडक, अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्र, स्थायी प्रदर्शनी केन्द्र, सरकारी मेडिकल कलेज, तिनाउ नदीमा निर्माण भइरहेका पाँचवटा पक्की पुल, ४ लेन बन्दै गरेको बुटवलकोे कालीकापथ, मोतिपुर औद्योगिक क्षेत्र, बेलवास नुवाकोट तथा बेथरी बेलवास पर्यटन सडक, बुटवल र सैनामैनाका नगर परिक्रमा पथलगायतका ठूला–ठूला विकासे आयोजनाका प्रगतीका विषयमा जानकारी दिए।

पौडेलले आफ्नो निर्वाचन क्षेत्रमात्रै होइन सिङ्गो रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता गर्दा मतदाता खुशीले गदगद भए। कालीगण्डकी डाइभर्सन प्रक्रिया, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, सैनामैनामा नमूना सङ्ग्रहालय निर्माण जस्ता महत्वपूर्ण आयोजना निर्माणको काम पूरा गर्न स्रोत पहिचान गरी बजेटको व्यवस्था गर्ने उनले बताए।

महासचिव पौडेलले भैरहवा–लुम्बिनी सडक, लुम्बिनी–तौलिहवा सडक, बुटवल– बेथरी सडक, बुटवल– नारायणगढ सडक, बुटवल–कोहलपुर, बुटवल–पोखरा सडक निर्माण तथा स्तरोन्नतिपछि रुपन्देही उच्चस्तरको सडक सञ्जालले विभिन्न जिल्लासँग जोडिने बताए।

सो अवसरमा महासचिब पौडेलले आफ्नो अभिभारा काँधमा बोकेर नेकपा नेतृत्वको सरकार अगाडि बढेकाले जनताले यसको सही मूल्याङ्कन गर्ने धारणासमेत राखे। “हामीले चुनाबमा गरेका प्रतिबद्धता सिरानीमा राखेर यहाँहरुले अध्ययन गरिदिनुहोला”, महासचिव पौडेलले भने,“ ६० महिनापछि प्रतिबद्धताको समीक्षाका लागि फेरि आउनेछौं।”

उनले सामाजिक सुरक्षा, गरीबी निवारण, पूर्वाधार विकास, राष्ट्रको सम्मान र स्वाभिमान वृद्धि गर्ने सवालमा महत्वपूर्ण काम भएको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमासमेत धेरै काम अगाडि बढेको उनले बताए। महासचिव पौडेलले सुकुम्वासी समस्या स्थायीरुपमा समधानका लागि कानून निर्माण भएकाले अब काम अगाडि बढ्ने बताए।

महासचिव पौडेलले प्रदेश– ५ को अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा प्रदेशसभाले परिणत गर्ने विश्वास व्यक्त गरे। संसारले चिनेको लुम्बिनीसँग प्रदेशको नामाकरण जोडिने विषयमा कसैले प्रश्न नउठाउने उनको भनाइ थियो। “भौतिक र मानवीय विकासको दृष्टिकोणले रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउने हाम्रो अठोट हो”, महासचिव पौडेलले भने,“मेरो प्रयासमा भएका विकास निर्माण र आयोजनाका काम पूरा गरेरै छोड्नेछु।”

कार्यक्रममा प्रदेश–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले प्रदेश– ५ लाई मुलुककै नमूना प्रदेशको रुपमा निर्माण गर्नका लागि काम अघि बढाएको बताए। उनले आर्थिक प्रगति र कामका हिसाबले अन्य प्रदेशको तुलनामा प्रदेश अगाडि रहेको बताए।

मन्त्री गिरीले रुपन्देहीका विभिन्न स्थानलाई शहरीकरणकोरुपमा विकास गर्नका लागि सडक, खानेपानी, ढल निकास र सञ्चारको विस्तारका लागि स्थानीय तहसँग छलफल भइरहेको बताए। मन्त्री गिरीले प्रदेशको समृद्धिका लागि पर्यटन, कृषि र उद्योगलाई प्राथमिकतामा राखेर विभिन्न योजना र कार्यक्रम तय गरेको उल्लेख गरे।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पनि नगरको विकासका लागि भइरहेका गतिविधिको लामै सूचि पेश गरे। स्थानीय तहमै पहिलो पटक तिलोत्तमा लगानी सम्मेलन सम्पन्न गरेको तिलोत्तमाले प्रस्ताव गरिएका २२ वटा परियोजना कार्यान्वयनको चरणमा रहेको प्रमुख घिमिरेले बताए। नगरले गुणस्तरीय शिक्षा, स्वास्थ्यलाई जोड दिँदै विभिन्न कार्यक्रम बनाएको बताए।

ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताउँदै नगरप्रमुख घिमिरेले ज्येष्ठ नागरिक र गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताए। नगरमा कृषि, पशुपालन, उद्यमशीलता, उद्योग प्रवद्र्धन, फोहरमैला व्यवस्थापन, बजार अनुगमन जस्ता कायर्कलाई प्रभावकारी ढङ्गले अगाडि बढाएको उनले बताए।

कतिपय समस्या रहे पनि अधिकांश राम्रा काम भएको स्थानीय मतदाता देवी वाग्लेले बताए। खासगरी सांसद पौडेल र नगर प्रमुख घिमिरेले यहाँको विकास र समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै मतदातले प्रशंसा गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *