ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
काठमाडौं। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने ‘मुख्य आरोपी’लाई प्रहरीले ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान थालेको छ। चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोखरेललाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा अनुसन्धान थालिएको हो।
पोखरेल कात्तिक १९ गते पक्राउ परेका थिए। उनलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा थुनामा राखेर अनुसन्धान भइरहेको छ । सो कसूरमा प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्छ। शाहीमाथि गत असोज ११ गते चितवनमा आक्रमण भएको थियो। पक्राउ परेका भरतपुर महानगरपालिका–११ का ३२ वर्षीय पोखरेल तीन महिनायता महानगरपालिकाको चालकमा जागिरे रहेको थाहा भएको छ।
मेयर रेणु दाहालको सवारी चलाउने गरी नियुक्ति गरिए पनि उनी नगरपालिकाको फोहोर उठाउने गाडीमा चालक थिए। पोखरेल पूर्वमाओवादी कार्यकर्ता हुन्। पोखरेलमाथि अनुसन्धान थालिए पनि अन्य व्यक्तिहरू भने पक्राउ परेका छैनन्। अन्य को को थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा ‘नेपालका लागि नेपाली’ले आयोजना गरेको कार्यक्रम सुरू हुनै लाग्दा शाहीमाथि आक्रमण गरिएको थियो। कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो।
Facebook Comment