चीनले भन्यो ‘हामीले सीमा मिचेका छैनौं, भारतसँगको समस्या वार्ताबाट समाधान होस्’

डिसी नेपाल
२८ कार्तिक २०७६ २०:५२

काठमाडौं। चीन र भारतले नेपालको भूमि मिचेको भन्दै नेपालमा विरोध भइरहेका बेला उत्तरी छिमेकी चीनले भने नेपालको सीमाना नमिचेको बताएको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता प्रवक्ता वाङ सिओयोलोङले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै चीनले नेपालको सीमाना नमिचेको दावी गरे। उनले केही गैरजिम्मेवार व्यक्ति र मिडियाले भ्रामक समाचार लेखेको भन्दै नेपाल र चीनबीच सम्बन्ध खराब गर्ने उद्देश्य भएकाहरुबाट सचेत रहनुपर्ने बताए।

उनले नेपाल र चीनबीच १९६१ मा सीमा सम्बन्धि सन्धि भएको र त्यस यता कुनै पनि सीमा समस्या नरहेको बताए। उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको काठमाडौं भ्रमणका क्रममा पनि दुईदेशबीच सीमा सुरक्षाका विषयमा सम्झौता भएको भन्दै नेपाल र चीनबीच सौहार्द सम्बन्ध रहेको र दुई देशबीच पारवहनका विषयमा सम्झौता भएकोसमेत बताए।

उनले भारतसँगको सीमा समस्या दुई देशले कुटनीतिक रुपमा समधान गर्नुपर्नेसमेत चिनियाँ धारणा रहेको बताए। तर, लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताबारे भने उनले केही बताएनन्। भारत र चीनबीच लिपुलेक ट्रान्जिट सम्झौता भएको छ। जसमा नेपालको असहमति छ। नेपालले लिपुलेक त्रिदेशीय विन्दु भन्दै आएको छ। तर, चीन र भारतले भने त्यसलाई द्विपक्षीय मानेका छन्।

भारतले हालै जारी गरेको विवादित राजीनितक नक्शामा नेपाली भूमिसमेत समेटिएपछि नेपालमा त्यसको विरोध भइरहेको छ। यहीबीचमा चीनले पनि नेपालको ३६ हेक्टर जमीन मिचेको चर्चा चलेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *