‘फिल्म नचले पनि विदेश पलायन हुँदिन’
काठमाडौं। एक समय अभिनेता आर्यन सिग्देलको क्रेज उत्कर्षमा थियो । निर्माता उनका लागि आँखा चिम्लिएर लाखौं रुपैयाँ खर्च गर्थे। हलमा उनका फिल्म हेर्न दर्शकको खचाखच भीड लाग्थ्यो। फिल्मले लाखौं नाफा कमाउथेँ।
चकलेटी अनुहार, स्टाइल र अभिनयले लाखौं दर्शकको प्रिय अभिनेता बनेका थिए, आर्यन्। पहिलो फिल्म ‘किस्मत’ सुपरहिट भईदियो। ‘मेरो एउटा साथी छ’मा अभिनय गरेपश्चात त आर्यनले पछाडि फर्केर हेर्नुपरेन्। केही वर्ष फिल्म बजारमा नम्बर १ अभिनेताको स्थान नै बनाए। तर, समय सधै कहाँ एकैनास हुन्छ र! अनमोल केसी, प्रदिप खड्का, सलिनमान बनिया, पल शाह जस्ता चिल्ला–चाप्ला चकलेटी अभिनेता फिल्मवृत्तमा भित्रिए। दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की जस्ता खस्रा अभिनेताले पनि फिल्ममा आफ्नो बर्चश्व लिन थाले।
अहिलेका युवापुस्ताको ध्यान यी दुबैखाले अभिनेतामा तानियो। आर्यनका फिल्म हेर्न दर्शकले रुचि देखाउन छाडे। त्यसैले त ‘रुद्रप्रिया’, ‘कायरा’ हुँदै ‘हजार जुनीसम्म’ जस्ता फिल्मले अपेक्षाकृत दर्शक हलसम्म तान्न सकेनन्। अझ अहिले त दर्शकको ठूलो मास दीपकराज गिरी, केदार घिमिरे जस्ता हास्य कलाकारका फिल्ममा तानिएका छन्।
आर्यनका फिल्मले अपेक्षाकृत दर्शक तान्न नसकिरहँदा सबैतिर सोधिन्छ, –तपाईको क्रेज घटेको हो? तर, उनी भने यो कुरा मान्न तयार देखिँदैनन्। उनी भन्छन्, –‘अहिले धेरै नयाँ दर्शक आउनुभएको छ। धेरै नयाँ कलाकार आउनुभएको छ। जतिबेला म फिल्ममा लागेँ, त्यसबेलाका ८०/९० प्रतिशत दर्शक त विदेशमा हुनुहुन्छ होला।’ उनी आफूलाई मासमा हिजोभन्दा आज बढी दर्शकले चिन्ने दाबी गर्छन्।
आर्यन पछिल्लो समय आफ्ना फिल्म नाफामा जान नसक्नुको पछाडि बजेट बढ्नु पनि प्रमुख कारण मान्छन्। ‘म खेलेको फिल्मको बजेट नपत्याउने तरिकाले किन हाइ हुन्छ?’ उनी प्रश्न गर्छन् अनि आफै उत्तर दिन्छन्, –‘फिल्मको बजेट बढी भएको हुनाले पनि बक्स अफिस सक्सेस नदेखिएको हो।’
डिसी नेपालसंगको कुराकानीमा आर्यनले आफ्ना पछिल्ला फिल्मबाट आफूलाई कुनै गुनासो नरहेको बताए। ‘मेरो गुनासो त त्यतिबेला हुन्थ्यो, जतिबेला दर्शकले मेरो क्यारेक्टरलाई रुचाउनुहुन्थेन्। यता फिल्मलाई लिएर प्रोड्यूसरको पनि कुनै गुनासो रहेन् भने म किन दुःखी हुने?’ –आर्यन यसै भन्छन्। उनले ‘कायरा’, ‘हजार जुनीसम्म’को क्यारेक्टरलाई दर्शकले रुचाएको दाबी गर्छन्।
‘क्यूट’ आर्यन चलिरहेको थियो
आर्यन आफूले ट्रयाक चेन्ज गर्न खोज्दा दर्शकले नरुचाएको बताउँछन्। ‘पर्दामा क्यूट, गोरो, चिटिक्क परेको आर्यन चलिरहेको थियो। फरक खालको फिल्ममा अभिनय गर्दा दर्शकले रुचाउनुभएन’–उनी भन्छन्। लभस्टोरी फिल्म गरिरहेका आर्यनले ‘धुँवा यो नशाको’मा फरक भूमिका निर्वाह गरेका थिए। जुन फिल्मले गतिलो ब्यापार गर्न सकेन।
तर, उक्त फिल्म कन्टेन्टवाइज राम्रो रहेको बताउँछन्। ‘यो फिल्म मैले खेलिरहेका भन्दा पृथक थियो। फिल्म हेरेका दर्शकले कन्टेन्टवाइज राम्रो भन्नुभयो। तर, चलेन’ उनी भन्छन् ‘कहिलेकाँही राम्रो कन्टेन्टका फिल्म पनि चलिरहेको हुँदैन।’ त्यसयता पनि आर्यनले केही फरक फिल्ममा अभिनय गरे। माला, नाइके, रुद्रप्रिया– तर दर्शकले रुचाएनन्। त्यसयताका लभस्टोरी फिल्म पनि राम्रो चलेनन्।
‘योजना बनाउँदिन’
आर्यनका अनुसार उनी योजनाबीना नै फिल्म क्षेत्रमा भित्रिए। अगाडी जे आउँछ, त्यही गर्दै गए। अहिले पनि आफूले योजना नबनाउने आर्यनको भनाई छ। उनको एउटा योजना भने पक्कै छ, –फिल्म गरिरहने। ‘फिल्ममा यस्तो क्यारेक्टर पाए हुन्थ्यो भन्ने सपना केही छैन। भोलिका दिनमा राम्रो कथाको फिल्म आओस्, अभिनय गर्छु’– आर्यन बताउँछन्।
उनी दर्शकको रोजाइ सधै राम्रो कथा नै हुने बताउँछन्। ‘स्टारडमले केही फरक त पार्छ। तर अन्तिममा दर्शकले खोज्ने भनेको राम्रो कथा नै हो। कलाकारले पनि राम्रो कथा भयो भने राम्रो काम गर्न सक्छ’–उनी सुनाउँछन्। आर्यनको नयाँ फिल्म ‘चच हुई’ प्रदर्शनको तयारीमा छ। आउँदो शुक्रबार अर्थात मंसिर ६ गतेदेखि प्रदर्शनमा आउने फिल्मबाट आर्यन आशावादी छन्।
‘स्क्रिप्ट राम्रो लागेर नै यो फिल्म गरेको हुँ’ उनी भन्छन् –‘जुन कथा सुनिएको थियो। पर्दामा त्यही उत्रिएको छ। दर्शकले रुचाउनुहुनेछ भन्ने आश लिएको छु।’ आर्यन ‘चच हुई’ रोमान्टिक कमेडी जनरामा उत्कृष्ट फिल्म बनेको बताउँछन्।
विदेश मोह छैन
थुप्रै कलाकारहरु करिअर ओरालो लाग्न थालेपछि अमेरिका हानिएका छन्। आर्यनसंगकै समकालिनक केही कलाकार अमेरिकामा छन्। आर्यन भने एकपछि अर्को फिल्म गरिरहेका छन्। भलै, उनका फिल्मले दर्शक तान्न सकिरहेका छैनन्। कुराकानीमा आर्यनले आफूलाई विदेशको मोह नरहेको दाबी गर्छन्। उनी आफ्ना फिल्म नचलेपनि विदेश पलायन नहुने बताउँछन्।
‘सबैभन्दा ठूलो कुरा सन्तुष्टि हो। आफू कहाँ बसेर सन्तुष्ट भईन्छ भन्ने हो। म यहीँ बसेर सन्तुष्ट छु। फिल्म क्षेत्रमै जीवन विताउन चाहन्छु’– उनी भन्छन्। उनी अरु कलाकार विदेश गएको कुरालाई नराम्रो भने मान्दैनन्। भन्छन्, ‘नेपालमा कलाकारहरुको अवस्था कस्तो छ थाहा भएकै कुरा हो। भोलिका दिनमा मलाई नै केही भैहाल्यो भने मेरो ब्याकअप केही छैन। सरकारी स्तरबाट केही सपोर्ट छैन। उहाँहरु त ब्याकअप नदेखेपछि आफूलाई सेटल बनाउनुभयो। परिवारलाई सेटल बनाउनुभयो। यो त राम्रो हो।’
–तस्वीर सौजन्यः आर्यन विमली
Facebook Comment