काँग्रेसको एजेन्डा ‘निःशुल्क शिक्षा र स्वास्थ्य’ बन्नुपर्छ : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले निशुल्क शिक्षा र स्वास्थ्य नेपाली काङ्ग्रेसको एजेन्डा बन्नुपर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिएको नेपाल शिक्षक संघको प्रदेश कार्यसमितिको प्रथम प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त बिषय जनताको पँहुचमा आउने र त्यो नै काग्रेसको मुख्य एजेण्डा बन्नुपर्ने बताएका हुन् ।
‘काँग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी भएकाले गरिबका छोराछोरीले पनि डाक्टर पढ्न पाउनुपर्छ भन्ने एजेण्डा बोकेर अगाडी बढेको छ,’ नेता महरले भने, ‘गरिब, विपन्नले पनि निशुःल्क र सहज रुपमा सेवा पाउनुपर्छ भन्ने एजेण्डा कांग्रेसको हो र बन्नुपर्छ ।’
नेता महरले सम्बोधनका क्रममा स्थायी, अस्थायी र करार गरी देशभर ४ लाखको हाराहारीमा रहेका शिक्षकहरुको सेवा सुविधामा सरकार गम्भीर हुनुपर्ने र शिक्षकहरु पनि विद्यार्थीको मुख्य अभिभावक भएकाले जिम्मेवार बन्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा नेता महरले नेपाली भूमि मिचिएकोबारे सरकार गम्भीर नबनेको भन्दैं आक्रोश पोखेका हुन् । नेता महरले मिचिएको नेपाली भूमि फिर्ता ल्याउन मर्न र मार्न परेपनि कांग्रेस पछि नहट्ने उद्घोष गरे ।
Facebook Comment