स्वदेश फर्किए बंगलादेशका राष्ट्रपति हमिद
![स्वदेश फर्किए बंगलादेशका राष्ट्रपति हमिद](https://www.dcnepal.com/wp-content/uploads/2019/11/hamid-e1573521890731.jpg)
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिद नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन् ।
बंगलादेशका राष्ट्रपति हमिद नेपालको चार दिने भ्रमण सकेर शुक्रबार अपरान्ह स्वदेश फर्केका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गरेकी हुन् ।
उनलाई विदाई गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत मन्त्रीहरु विमानस्थल पुगेका थिए । त्यसैगरी उच्च पदस्थ अधिकारीहरु पनि विदाईमा सहभागी भएका थिए ।
राष्ट्रपति हमिदको विदाईको अवसरमा अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । मंगलबार नेपाल भ्रमणका लागि काठमाडौं आएका राष्ट्रपति हमिदले बुधबार समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसंग उच्च स्तरीय राजनीतिक भेटघाट गरेका छन् ।
त्यसैगरी उनले विहिबार पर्यटकीय नगरी पोखराको अवलोकन भ्रमण गरेका थिए भने मंगलबार नै भक्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए ।
शुक्रबार बिहान चन्द्रागिरी हिल्स अवलोकन गर्ने कार्यक्रम राखिए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
Facebook Comment