बार्सिलोनामा पनि ‘छ माया छपक्कै’ प्रदर्शन हुने
बार्सिलोना । लोकप्रिय नेपाली चलचित्र छ माया छपक्कै अब बार्सिलोनामा पनि देखाईने भएको छ। गत असोज १४ गतेबाट नेपालभर प्रदर्शन भएको चलचित्र आगामी डिसेम्बर १६ तारिखका दिन साँझ ४ बजेर ४५ मिनटमा बार्सिलोनाको जिरोना हलमा देखाईने ब्रदरहुड समुहले जनाएको छ।
दिपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, अनुराग कुक्वर, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रले दुई फरक राजनीतिक परिवार र उनै परिवारका छोरा छोरीको प्रेमसम्बन्धलाई देखाएको छ । चलचित्रले नेपालका विभिन्न ग्रामिण भेगका जनताले भोग्नु परेको शास्ती र राजनीतिक दलले आफ्नो स्वार्थको लागि मात्र उनीहरुलाई प्रयोग गरिरहेको तितो यतार्थलाई उजागर गरेको छ ।
विशेषगरी ग्रामिण भेगका जनतालाई परेको खानेपानीको समस्या र राजनीतिक दलले हरेक चुनावमा समस्या समाधान गर्ने वाचा गर्ने तर चुनाव जितेर गए पश्चात उक्त्त वाचा पुरा नगर्ने प्रवृत्तिलाई चलचित्र मार्फत उजागर गर्ने प्रयास गरिएको छ ।
चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी मुख्य भूमिकामा छन् । दर्शकलाई मनोरञ्जन प्रदान गर्न केदार प्रसाद घिमिरेले मेहनत गरेका छन् । पोखरेली कलाकार प्रकाश घिमिरेले आफ्नो भूमिकालाई न्याय गर्दै दर्शकको ध्यान खिच्न सफल बनेका छन् ।
निर्देशक लामाले नै लेखेको चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ । चलचित्रको कार्यकारी निर्माता जितु नेपाल र केदार प्रसाद घिमिरे रहेका छन्। आमा सरस्वति मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा चलचित्र तयार भएको हो । दिपाश्री निरौलाले निर्देशन सल्लाहकारको रुपमा रहेकी छन्।
विपिन मल्लको सम्पादन, रोसन श्रेष्ठको एक्सन, हरि हुमागाईको छायाकंन, कविराज गहतराजको कोरियोग्राफिले चलचित्रलाई आर्कषक बनाएको छ।
Facebook Comment