संस्कृत भाषा साहित्य र ज्ञानको खानी हो : पूर्वप्रधानमन्त्री नेपाल

डिसी नेपाल
३० कार्तिक २०७६ १०:०१

महोत्तरी । पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संस्कृत भाषा र साहित्य समृद्ध रहेको बताएका छन् ।

महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत मावि र याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययन गरेका भूतपूर्व संस्कृत विद्यार्थी समाजको जारी प्रथम सम्मेलनका सहभागी प्रतिनिधिसँग आज बिहान सम्मेलन सफलताको कामना गर्दै वरिष्ठ नेता नेपालले संस्कृत भाषा वैज्ञानिक हुनाका साथै ज्ञानको खानी भएको बताएका हुन् ।

बिहान राजकीय संस्कृत विद्यालय परिसर पुगेका नेपाललाई संस्कृत माविका विद्यालयका विद्यार्थीले वैदिक मन्त्रोच्चारणबीच स्वस्तिवाचन गरेका थिए।

संस्कृत मावि र विद्यापीठको अवलोकन गरेका नेपाललाई समाजमा आबद्ध दुवै शिक्षालयका पूर्वविद्यार्थीले स्वागत गर्दै संस्कृत शिक्षा उपेक्षित हुँदै गएको गुनासो गरेका थिए।

सम्मेलनमा सहभागी हुन आउनुभएका समाजमा आबद्ध हाल पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शम्भु कोइरालाले मटिहानीको मुख्य आकर्षण संस्कृत शिक्षा भएको उल्लेख गर्दै यसको संवद्र्धनका लागि नेपालको ध्यानाकर्षण गराएका छन् । सम्मेलनका सहभागीसँग वरिष्ठ नेता नेपालले संस्कृतको संरक्षण र संवद्र्धनमा सबै तहका सरकार र प्रबुद्ध वर्गको निरन्तर सहयोग रहनुपर्नेमा जोड दिए।

आफ्नो तहबाट यसका लागि उच्चतम प्रयत्न गर्ने नेपालले प्रतिबद्धता जनाए । समाजको प्रथम सम्मेलनमा सहभागी हुन ५० वर्षअघि सम्मका ३०० पूर्वविद्याथी अहिले मटिहानी पुगेका छन् ।

शुक्रबार शुरु भएको सम्मेलनको उद्घाटन गर्दै प्रदेश—२ का प्रमुख तिलक परियारले सबै संस्कृति परम्परा र भाषाले संवद्र्धनको अवसर पाउनुपर्ने उल्लेख गरे । समारोहमा प्रदेश–२ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले मटिहानी धार्मिक र पुरातात्विक महत्वको ठाउँ भएको उल्लेख गर्दै यसको विकासमा प्रदेश सरकारले पहलकदमी लिएको बताएका थिए ।

मटिहानीमा वैदिक भाषा संस्कृतको पठनपाठन हुने मावि र उच्च शिक्षा पठनपाठन हुने विद्यापीठसहित मुलुकभरिका मठ र गुठीमध्ये मुख्य मानिँदै आएको लक्ष्मीनारायण मठ छ।

नेपाल–भारत सीमा क्षेत्र अवस्थित मटिहानी रामायणकालमा राम जानकीको विवाहमा वेदी बनाइने माटो मटिहानीकै लक्ष्मीसागरबाट लगिएको विश्वास गरिन्छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *