लिबियाको समस्या समाधानबारे इजिप्ट र जर्मनीबीच छलफल
कायरो। लिबियामा जारी संकटको समाधानका लागि इजिप्ट र जर्मनीबीच छलफल भएको जनाइएको छ । शुक्रबार जर्मनीका चान्स्लर एन्जेला मार्केल र इजिप्टका राष्ट्रपति अब्देल फताह शिशिबीच फोन वार्ता भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
शुक्रबार जर्मन चान्स्लर मार्केलले इजिप्टका राष्ट्रपति शिशिलाई टेलिफोन गरेको उक्त कार्यालयले जनाएको छ । त्यस वार्ताका क्रममा इजिप्टका राष्ट्रपतिसमक्ष जर्मन चान्स्लरले लिबियाको संकटको बारेमा राजनीतिक समाधान खोज्नुपर्ने धारणा राखेकी थिइन् ।
इजिप्टका राष्ट्रपति शिशिका प्रवक्ता बसाम रेडीले यस विषयमा लिबियासँग वार्ता गरी राजनीतिक समाधानका लागि तयार पार्नुपर्ने धारणा जर्मन चान्स्लर मार्केलले राखेको जानकारी दिएका छन् । लिबियामा हाल हिंसात्मक आक्रमणहरु हुने गरेका छन् । यहाँ आतंकवादी हमलाहरु पनि हुने गरेको अधिकारीहरुले जनाएका छन् ।
यहाँको अवस्थालाई शान्तिपूर्ण रुपमा र राजनीतिक वार्ताको माध्यमबाट टुंग्याउनुपर्नेमा जर्मनीको जोड रही आएको छ । जर्मन चान्स्लर मार्केलको धारणापछि इजिप्टका राष्ट्रपति शिशिले पनि लिबियामा राजनीतिक समाधानका लागि इजिप्टले सहयोग गर्ने बताएका थिए ।
इजिप्टका राष्ट्रपति शिशिले लिबियामा जारी रहेको आतङ्कवादी क्रियाकलापहरु रोकेर शान्ति स्थापना गर्ने र राजनीतिक सहमतिका आधारमा अघि बढ्नसक्ने वातावरण बनाउनुपर्ने बताएका थिए । जर्मनीले लिबियामा हिंसा मच्चाइरहेका विभिन्न विद्रोही समूह र यहाँको सरकारबीच वार्ता गराई यसका माध्यमबाट संकट समाधान गर्ने पक्षमा काम गरिरहेको बताइएको छ ।
Facebook Comment