श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

डिसी नेपाल
१ मंसिर २०७६ १३:२८

कोलम्बो। श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन्।

झण्डै दश बर्ष अगाडि रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्नु भएका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेकाे उनका प्रवक्ताले जानकारी दिएका छन्।

उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बन्नु भएका सजिथ प्रेमादासलाई पराजित गरेका हुन्। उनको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नु भएको छ,” राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भने।

उनले सपथग्रहण कार्यक्रम एक दुई दिनमा हुनसक्ने बताए। राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्।

प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपति बनेका थिए। सोही कार्यकालमा गोटाबाया रक्षाामन्त्री थिए।

नयाँ राष्ट्रपतिमा निर्वाचित राजापाक्षे ७० बर्षको छन् भने उनीसँग प्रतिश्पर्धा गर्ने प्रेमादास ५२ बर्षको छन्।  राजापाक्षे निर्वाचित भएको नतिजालाई उनका प्रतिश्पर्धी प्रेमादासले पनि सार्वजनिक रुपमा स्विकार गरिसकेका छन्।

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदाता मध्ये झण्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताए।

निर्वाचनका बेला उम्मेदवारहरुले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए।

मतदानका लागि देशभरी १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।

राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिश्पर्धामा थिए। सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि भएको यो तेस्रो निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना भने यस निर्वाचनमा सहभागी भएनन्।

सात महिना अघि २ सय ५३ जनाको ज्यान जानेगरी भएको भएको घटनामा उनको आलोचना भएकाले उहाँ अहिले उम्मेदवार नबनेकाे विश्लेषण गरिएको छ।

इस्लामिक स्टेट्स समूहसँग सम्बद्ध व्यक्तिले श्रीलङ्का गिर्जाघर र होटलमा शृङ्खलावद्ध विस्फोटन गराउँदा कम्तीमा २ सय ५३ व्यक्तिको मृत्यु भएको थियो।

सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकारेको छ। त्यसैले अहिले श्रीलङ्कामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ भने उम्मेदवारले अल्पसङ्ख्यको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माणलगायतका विषयलाई चुनावी एजेण्डा बनाएका थिए ।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलङ्कालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नु पर्नेमा जोड दिएपनि प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *