भोली मन्त्रिमण्डल पुनर्गठन हुने !
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल पुनगठर्न गर्ने तयारी गरेका छन्। आइतबार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल पुनर्गठन गर्न जिम्मेवारी दिएको बैठकमा सहभागी एक सचिवालय सदस्यले डिसी नेपाललाई बताए।
आइतबारको बैठकमा मन्त्रिमण्डल पुनर्गठन सम्बन्धि सैद्धान्तिक निर्णय भएको स्रोतले बताएको छ। स्रोतले भन्यो, ‘नामहरुबारे टुंगो लागेको छैन। तर, सोमबार मन्त्रिमण्डल पुनर्गठन हुन्छ।’
स्रोतका अनुसार प्रधानमन्त्रीले वर्तमान २५ सदस्यीय मन्त्रिमण्डलबाट करिब आधा दर्जन मन्त्रिहरुलाई पदमुक्त गर्ने तयारी गरेका छन्। तर, उनीहरुलाई पदमुक्त भन्दा पनि राजीनामा गराइने तयारी भएको स्रोतले बताएको छ।
नयाँ मन्त्रिहरुमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकटहरुलाई प्रथामिकता दिने सोच बनाएका छन्।
पछिल्लो समय आफुसँग रिसाएका नेता नेपाललाई फकाउन उनले उनी निकटका नेताहरुलाई मन्त्रि बनाउन लागेको बालुवाटार स्रोतको दावी छ। स्रोतले नेताहरु भीम रावल र घनश्याम भुषाललाई पनि मन्त्रिमण्डलमा समेट्नेबारे छलफल चलिरहेको छ।
यसअघि पनि पटक पटक मन्त्रिमण्डल पुनर्गठनको चर्चा भएको थियो। तर, सरकार बनेको करिब २० महिना पुग्दासम्म मन्त्रिमण्डल पुनर्गठन भएको छैन।
यसैबीच पार्टीको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। प्रवासी नेपालीहरुको बीचमा समन्वय, सम्पर्क, एकता र मेलमिलापको भाव विकसित गर्ने उद्देश्यका सो समन्वय कमिटी गठन गरिएको उनले जानकारी दिए।
बैठकले सो समन्वय कमिटीको इन्चार्जको जिम्मेवारी विन्दा पाण्डेलाई दिएको छ। त्यसैगरी सहइन्चार्जमा लक्ष्मण पन्त, अध्यक्षमा युवराज चौंलागाईँ र सचिवमा श्रीप्रसाद साहलाई चयन गरिएको छ। सो समन्वय समितिको सदस्यमा दिल विक रहेका छन्।
Facebook Comment