एक वर्षमा पुनर्वास क्षेत्रमा सडक कालोपत्रे हुन्छ : मन्त्री मगर
कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको पुनर्वास लगायत अन्य क्षेत्रहरुको विकासमा पहिलो प्राथमिकता दिने बताएकी छन् ।
कञ्चनपुरमा कार्यकर्ता भेटघाटका क्रममा मन्त्री मगरले कञ्चनपुरको दक्षिणी भेग पुनर्बास स्थित दोदा नदीको अवलोकनका क्रममा अब पुनर्वास र अन्य क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेको बताएकी हुन् ।
सदरमुकाम भन्दा टाढा रहेको यस क्षेत्रलाई विगतका दिनमा सरकारले खासै ध्यान नदिएको बताउँदै उनले यस क्षेत्रको विकासमा गम्भीर भएर लागेको बताइन् ।
‘सरकारले गर्ने विकास सधैं बजार केन्द्रित बन्यो ।’ उनले भनिन्, ‘जसका कारण अहिले सम्म यहाँका जनता धेरै सेवा सुविधाबाट बञ्चित बने । अब विकासले यस क्षेत्रलाई पनि छुनेछ । स्तरीय बाटोघाटो नहुँदा यस क्षेत्रका जनताको सदरमुकामबाट सम्बन्ध टुटेको छ ।’
उनले पुनर्बास नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८ र ९ लाई जोड्ने लोकतान्त्रिक सडक कालोपत्रेका लागि पहल गर्ने बताइन् । यो सडक भित्री सडक भएपनि यस क्षेत्रका जनताका लागि महत्वपूर्ण भएकाले यसको कालोपत्रे गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने उनको भनाइ छ ।
‘यस सडकको कालोपत्रे भएपछि यो सडक पुनर्वासका जनतालाई धनगढीको सदरमुकामसँग जोड्ने सबैभन्दा छोटो सडक बन्नेछ, उनले भनिन्, ‘यसै आर्थिक बर्षभित्र कालोपत्रे निर्माणका लागि भौतिक मन्त्रालयमा पहल गर्नेछु ।’
मन्त्री मगरले पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापासँग भेट गरी सडक कालोपत्रे गर्ने विषयमा कुराकानी गरिन् । भेटमा मेयर थापाले सडक कालोपत्रेका लागि नगरपालिकासँग बजेट अपुग भएकाले केन्द्र सरकारसँग बजेट थप गरिदिन मन्त्री मगरलाई आग्रह गरे । पुनर्वास नगरपालिकाकै पहलमा सडकको डिपिआर भने तयार भईसकेको छ ।
Facebook Comment