पूजा बोहोराको बलात्कारीलाई साढे ११ वर्षको जेल सजाय

डिसी नेपाल
२ मंसिर २०७६ १८:३९

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी पूजा बोहोराका दुईजना बलात्कारीलाई साढे ११ वर्षको सजाय सुनाएको छ। सर्वोच्च अदालतले पुनरावेदनको फैसला उल्टाउँदै कैद सजाय तोकेको हो। पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ ।

सोमबार न्यायाधीश सपना मल्ल र हरि फुयाँलको सजाय तोक्ने संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै बलात्कारी ठहर सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।

क्षतिपूर्ती वापत पीडित बोहोरालाई सकारका तर्फबाट पाँच लाख दिन आदेश छ भने दुईजना दोषीबाट पाँच लाख भराउने आदेश दिइएको छ।
बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै दुबै अभियुक्तलाई सफाइ दिएको थियो ।

पुनरावेदनको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले २०७१ मंसिर २१ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो । सर्वोच्चमा न्यायाधीश सपना मल्ल प्रधान र हरि फुयालको इजलासले कात्तिक ७ गते पुनरावेदन अदालतको फैसला उल्ट्याएको थियो । तर सजाय तोक्न बाँकी थियो । सोमबारको इजलासले सजाय तोकेको हो ।

२०६८ चैत ९ गते एसएलसी परीक्षाको तयारीका लागि गेसपेपर किन्न बैतडीमा फोटो स्टुडियोमा गएकी पूजा बोहरा त्यसै स्टुडियोको सञ्चालक सागर भट्ट र उनका साथी अमरराज अवस्थीको सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *