नाम नलिइ यातायात व्यवस्था विभागले भन्यो –‘पठाओ र टुटल बन्द गर’
काठमाडौं। यातायात व्यवस्था विभागले नाम उल्लेख नगरी सांकेतिक रुपमा पठाओ र टुटललाई अहिले गरिरहेको काम बन्द गर्न भनेको छ । विभागले सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन सार्वजनिक यातायातका रुपमा प्रयोग गरे कडा कारबाही गर्ने चेतावनी दिएको हो ।
विभागको सूचनामा भनिएजस्तो निजी प्रयोजनमा दर्ता भएका सवारी साधनमा भाडा लिएर मान्छे बोक्ने काम पठाओ र टुटलले गर्छन् । सूचनामा नाम नतोकिएपछि विभागको सूचना पठाओ र टुटलप्रति नै लक्षित देखिन्छ । रातो नम्बर प्लेट अर्थात् निजी सवारीलाई ट्याक्सीको रुपमा प्रयोग गरेको गुनासो आएकाले विभागले उक्त सूचना जारी गरेको जनाएको छ।
विभागले सूचनामा भनेको छ, ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफ ८ (२)मा निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन र दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन भन्ने कानुनी व्यवस्था रहेको छ।’
ट्राफिक प्रहरीले करिब १ वर्षअघि टुटल तथा पठाओलाई गैरकानूनी रुपमा मोटरसाइकल भाडामा यात्रु बोक्न प्रयोग गरेको भन्दै कारबाही सुरु गरेको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही नगर्न भनेपछि उनीहरुले आफ्नो काम निरन्तर गरिरहेका छन् ।
Facebook Comment