ओली पाँचै वर्ष प्रधानमन्त्री, पार्टी प्रचण्डको जिम्मामा

डिसी नेपाल
४ मंसिर २०७६ १५:५६

काठमाडौं। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पाँच वर्ष प्रधानमन्त्री हुने भएका छन्। नेकपा सचिवालयको बुधबार बसेको बैठकले सरकारको नेतृत्व केपी ओलीले पूरा कार्यकाल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘राजनीतिक स्थाइत्वको सन्देश दिन अध्यक्ष ओली कमरेडले पूरौ कार्यकाल सरकारको नेतृत्व गर्ने निर्णय गरेको छ।’ नेकपाको यो निर्णयसँगै पार्टी एकता गर्दा तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको आलोपालोको च्याप्टर क्लोज भएको छ।

प्रवक्ता श्रेष्ठले नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी सञ्चालनको जिम्मेवारी दिइएको बताए। उनले भने, ‘अध्यक्ष कमरेड प्रचण्डको वरियता दुई नम्बरमा रहनेछ, अब उहाँलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार दिने निर्णय भएको छ।’

उनका अनुसार दुई अध्यक्षले सँयुक्त रुपमा बैठकको अध्यक्षता गर्नेछन् भने आमरुपमा प्रचण्डले एकल रुपमा बैठकको अध्यक्षता गर्ने छन्। यस्तै पार्टीका अन्य कमिटीहरुलाई पनि प्रभावकारी रुपले सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए।

यस्तै आजको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे भने कुनै निर्णय नभएको उनले बताए। उनले भने, ‘यो विषयमा उहाँ (प्रधानमन्त्री)ले पहिला नै संकेत दिइसक्नु भएको छ। थप केही छलफल भएन। तर आजै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *