राष्ट्रपति भण्डारी फेरि विवादमा
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार नेकपाका दुई अध्यक्षसँगको भेटका कारण फेरि विवादमा तानिएकी छन्। उनको तत्कालीन दल नेकपा एमाले र तत्कालीन माओवादी मिलेर बनेको नयाँ पार्टी सत्तारुढ नेकपाका दुई अध्यक्षहरुले बुधबार शितल निवास पुगेर पार्टीको आगामी दिशाबारे लामो परामर्श गरे।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बुधबार पहिला आफुमात्र बसेर छलफल गरेका थिए भने त्यसपछि पार्टी सचिवालय बैठक बस्नुअघि शितल निवास पुगेका थिए। शितल निवासमा लामो मन्थन गरेपछि बसेको नेकपा सचिवालयको बैठकले दुई वटा महत्वपूर्ण निर्णय गरेको छ।
एक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने । पार्टीका दुई नम्बर बरियताका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको कार्यकारी अध्यक्षका रुपमा पार्टीको नेतृत्व गर्ने।
नेकपाले बुधबार गरेको यो निर्णयले देशको आगामी राजनीतिलाई पनि नयाँ दिशा दिएको छ। तर, संवैधानिक पदमा बसेकी र गैरदलीय प्रतिनिधि राष्ट्रपति भण्डारीले आफ्ने पूर्व पार्टीमा प्रभावकारी भूमिका निर्वाह गरेपछि उनी विवादमा तानिएकी हुन्। सामाजिक सञ्जाल ट्वीटरमा काँग्रेस नेता गगन थापाले लेखेका छन्, ‘यस्तै हो भने राष्ट्रपतिज्यूलाई ‘तपाईं राष्ट्र प्रमुख की नेकपाको प्रमुख’ भनेर किन नसोध्ने? संविधानतः राष्ट्रप्रमुखलाई पार्टी राजनीति गर्ने अधिकार छैन। गणतन्त्र ल्याउन नचाहनेहरुले नत गणतन्त्रमा राष्ट्रपति संस्था हो भनेर कहिल्यै बुझ्न चाहे न त त्यो संस्थाको गरिमा राख्न नै।’
राष्ट्रपति पदमात्र नभएर एक अभिभावकीय भूमिका निर्वाह गर्ने देशको सबैभन्दा सर्वोच्च संस्था हो। यसैले संविधानले राष्ट्रपति पदमा निर्वाचित भएपछि आफु संलग्न रहेको दल त्याग्नुपर्ने व्यवस्था गरेको छ। तर, राष्ट्रपतिमा निर्वाचित हुने व्यक्तिले पहिला आफु संलग्न रहेको दलप्रतिको मोह नत्यागेकालेले सम्मानित संस्थाकै गरिमा घटनाउने काँग्रेस नेता थापाले टिप्पणी गरेका छन्।
त्यसो त राष्ट्रपति भण्डारीले आफु संलग्न रहेको पार्टीमा प्रभावकारी भूमिका निर्वाह गरेको यो पहिलो घटना भने होइन। गएको आम निर्वाचनमा आफु निकटका व्यक्तिलाई टिकट दिलाउन पनि उनले तत्कालीन एमालेमा प्रभाव पारेकी थिइन्। यतिमात्र होइन उनले प्रदेशका मुख्यमन्त्री चयन, प्रदेशसभा सभामुख चयन र सरकार गठनमा आफु निकटका लागि मन्त्री बनाउन पनि भूमिका खेलेकी थिइन्।
यतिमात्र होइन उनी नेकपामा नेताहरुबीच देखिने विवाद मिलाउन पनि सक्रिय रहेको नेकपाकै नेताहरु बताउँछन्। कुनैबेला अप्ठ्यारोमा परेका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई साथ दिन राष्ट्रपति भण्डारीले नेता बामदेव गौतम र ईश्वर पोखरेललाई मिलाएको चर्चा नेकपा भित्र छ।
पछिल्लो पटक प्रचण्डले आलोपालो अनुसार सरकारको नेतृत्व आफुले गर्न पाउनुपर्ने बताएपछि आगामी माघपछि सरकार छाड्नुपर्ने बाध्यतामा रहेका ओलीलाई राष्ट्रपति भण्डारीको सक्रियताले फेरि अप्ठ्यारो टारिदिएको छ। यतिमात्र होइन ओलीको आश्वासनप्रति विश्वस्त नरहेका प्रचण्ड पनि राष्ट्रपति भण्डारीलाई ‘साक्षी’ राखेर आलोपालाको पूर्व सहमतिबाट पछाडि हट्दै पार्टी सञ्चालनको अधिकार लिन तयार भएका छन्।
Facebook Comment