उपेन्द्र यादव दिल्ली जाँदा स्वास्थ्य मन्त्री, काठमाडौं फर्किँदा कानुन मन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले बुधबार मौजुदा मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। प्रधानमन्त्री ओलीले दुई राज्यमन्त्रीसहित आठ जना मन्त्रीलाई पदमुक्त गरेका छन्। साथै ६ मन्त्रीसहित तीन राज्यमन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन सँगै केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन्। प्रधानमन्त्री ओलीले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यावद र कानुन मन्त्री भानुभक्त ढकालको जिम्मेवारी हेरफेर गरेका हुन्। यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने ढकाललाई स्थास्थ्य मन्त्री बनाइएको छ।
मन्त्रिपरिषद पनुर्गठन हुँदा र जिम्मेवारी हेरफेर हुँदा उपप्रधानमन्त्री यादव भने नेपालमा थिएनन्। उनी स्वास्थ्य सम्बन्धि कार्यक्रममा भाग लिन भन्दै यतिबेला दिल्लीमा छन्। समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई जानकारी नदिइ उनको जिम्मेवारी हेरफेर गरिएको हो।
समाजवादी पार्टीको संघीय परिषद बैठकले तत्काल सरकार नछोड्ने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन्। यद्यपी उनको वरियताक्रम भने यथावत रहेको छ। यादव वर्तमान सरकारमा तेस्रो बरियातामा छन्।
पछिल्लो समय प्रधानमन्त्री ओली यादवको कामप्रति सन्तुष्ट छैनन्। राम्रोसँग आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको, सरकारमा सहभागी भएर सरकारको आलोचना गरेको भन्दै प्रधानमन्त्री ओली यादवसँग रुष्ट बनेका छन्।
केही समय अगाडि आफ्नो कार्यशैली परिवर्तन नगरे विकल्प खोज्न सन्देश पठाएका प्रधानमन्त्री ओलीले यादव नभएको बेला उनको जिम्मेवारी हेरफेर गरेका छन्। साथै समाजवादी पार्टीबाटै राज्य बन्त्री बनेका डा. सुरेन्द्र यादवलाई समेत प्रधानमन्त्रीले हटाएका छन्। यादव स्वास्थ्य राज्यमन्त्री थिए।
Facebook Comment