जापानमा सुपरमार्केटको विक्रीदरमा ४.१ प्रतिशत कमी
टोकियो। जापानको सुपरमार्केट बजारको व्यापारमा अक्टोबरमा कमी आएको छ । अघिल्लो बर्षको सोही महिनाको तुलनामा यस बर्षको अक्टोबरमा ४.१ प्रतिशतले कमी आएको ‘जापान चेन स्टोर्स एसोसियसन’ले बिहीबार जनाएको छ ।
उक्त सङ्गठनले सुपरमार्केटको सामान विक्रीदरमा कमी आउनुमा जापानमा गत महिना आएको आँधी तथा अन्य खराब मौसम, अक्टोबरमा गरिएको उपभोक्ता कर वृद्धि जिम्मेवार भएको जनाएको छ ।
सुपरमार्केटहरूको सङ्गठनका अनुसार जापानका ठूला सुपरमार्केट सञ्चालक ५५ कम्पनीका १० हजार ५२२ सुपरमार्केटहरूले अक्टोबरमा कुल नौ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेका थिए । यद्यपि यी सुपरमार्केटमा सेप्टेम्बरमा भएको कारोबार भने मार्चपछि आशालाग्दो रूपमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।
उद्योगहरूले दिएको तथ्याङ्कमा घरायसी सामानहरूको वृद्धिदरमा अक्टोबरमा ७।२ प्रतिशतले कमी आएको थियो । उद्योगीहरूले कारोबारमा देखिएको कमीलाई उपभोक्ता करमा गरिएको करवृद्धिलाई नै जिम्मेवार बताएका छन् ।
यद्यपि उपभोक्ता कर वृद्धि नगरिएका खाद्यान्नका सामग्रीको कारोबार भने १।३ प्रतिशतले कमी देखिएको तथ्याङ्कमा उल्लेख छ । यस बर्ष जापानमा अन्य बर्षको तुलनामा यस बर्ष न्यानो मौसम रहेकोले चिसोमा प्रयोग हुने लत्ता कपडाको कारोबारमा निकै कमी आएको छ ।
गत बर्षको तुलनामा अक्टोबरमा लत्ता कपडाको कारोबार रकममा १५।१ प्रतिशतले कमी आएको छ ।
जापानमा जाडोका लुगाहरू प्रायः अक्टोबरमा बढी विक्री हुने गर्छन् । तर अक्टोबरको कारोबार सोचेभन्दा निकै खराब देखिएको सङ्गठनको तथ्याङ्कमा छ । यद्यपि कारोबारमा देखिएको कमीलाई उपभोक्ता कर वृद्धिका साथै उनीहरूको मूल्य वृद्धिको मनोविज्ञानका कारण पनि प्रभावित पारेको बताएका छन् । सिन्ह्वा
Facebook Comment