सागमा प्याराग्लाइडिङ नहुने, नेपालले कम्तिमा ६ स्वर्ण गुमायो

डिसी नेपाल
५ मंसिर २०७६ २२:५१

काठमाडौं। १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले छानेको प्याराग्लाइडिङमा अन्य देशको सहभागिता नपुगेपछि उक्त खेल प्रतियोगिताबाट हटेको छ।

दक्षिण एसियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्रले दुई खेल छान्न पाउने प्रावधान रहेकोमा नेपालले प्याराग्लाइडिङ र क्रिकेट छानेको थियो। पदकको प्रबल सम्भावना बोकेको ठानिएको प्याराग्लाइडिङमा आठ स्वर्णपदक समावेश थिए। तर सहभागि राष्ट्रको आवश्यक संख्या नपुगेपछि उक्त खेल सागबाट हटाइएको छ।

सहभागि राष्ट्रले खेलाडी दर्ता गर्ने अन्तिम मिति बुधवार (नोभेम्वर २०) सम्म नेपाल र पाकिस्तानले मात्र नाम लेखाएपछि प्याराग्लाइडिङमा सहभागि राष्ट्र नपुगेको हो।

सागको प्रावधान अनुसार खेल समावेश गर्न अफिसियल खेलमा चार र ननअफिसियल खेलमा कम्तिमा तीन राष्ट्रले सहभागिता जनाउन आवश्यक हुन्छ।

प्याराग्लाइडिङमा नेपाल र पाकिस्तानले मात्र नाम लेखाएपछि थप एक राष्ट्र अपुग भएको नेपाल ओलिम्पिक कमिटीले जनाएको छ।

नेपाल ओलिम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले आवश्यक सहभागिता सङ्ख्या पुर्‍याउन नसकेपसिछ अन्ततः खेल समावेस भएन। इन्डोनेसियामा सम्पन्न पछिल्लो एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङबाट नेपालले रजतपदक जितेको थियो।

सागमा नेपालले प्याराग्लाइडिङको सबै खेलमा स्वर्णपदक जित्ने आशा गरेको थियो। प्याराग्लाइडिङमा क्रस कन्ट्री र एक्युरेसी गरी दुई इभेन्टस समावेश गरिएको थियो।

दुवै इभेन्ट्समा पुरुष एकल, महिला एकल, टिम पुरुष र टिम महिला गरी ४र४ स्वर्ण राखिएको थियो। यससँगै सागमा खेलको संख्या घटेर २६ पुगेको छ।

नेपालबाहेक दक्षिण एसियाको अन्य देशमा पाराग्लाइडिङका खेलाडीहरु कम छन्। यो तथ्य बुझेपछि नेपालले प्याराग्लाइडिङमा भाग लिन आउने दक्षिण एसियाका सबै राष्ट्रका खेलाडीहरुको खर्च ब्यहोर्ने प्रस्ताव राख्यो।

राष्ट्रिय खेलकुद परिषदले सबै खेलाडीहरुको दोहोरो हवाई टिकट, होटलदेखि आवश्यक खर्च ब्यहोर्ने लिखित प्रस्ताव नै पठाएको थियो।

नेपाल ओलिम्पिक सङ्घले दक्षिण एसियाका अन्य ओलिम्पिक काउन्सिल र नेपाल पाराग्लाइडिङ संघले आ–आफ्नै ढंगले सकृयता देखाएका थिए।

श्रीलङ्काले इच्छा देखाएपनि त्यहाँ राष्ट्रपतिको निर्वाचन परेकोले खेलाडीहरू आउन नसकेको जानकारी आएको बताइएको छ।

प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले सहभागि हुनासाथ कास्य पदक प्राप्त हुन्छ भन्ने लोभ पनि दिइएको तर न नमिलेको बताए । दक्षिण एसियामा प्याराग्लाइडिङ खेलाडिहरु क्लबका रुपमा मात्रै रहेको बताइने गरेका छन्।

संस्थागत संघहरु नहुंदा र भएका क्लबहरुको सम्बन्धित देशको ओलिम्पिक कमिटीसँग सम्पर्क नहुँदा समस्या हुन गएको ओलिम्पिक कमिटीका अधिकारीहरु बताउँछन्।

नेपालले गत वैशाखबाट प्याराग्लाइडिङको बन्द प्रशिक्षण सुरु गरेको थियो। जसमा २१ पुरुष र ६ महिलागरी २७ खेलाडीहरु समावेश थिए।

तर जतिजति समय घर्किंदै गयो र अन्य देशको सहभागि हुने सम्भावना न्युन हुँदै गयो, खेलाडीहरुको मनोबल घट्दै गएको प्रशिक्षकहरूले बताउने गरेका थिए।

वैशाखबाट प्रशिक्षण थालेपनि खेलाडीहरुले अझैसम्म राष्ट्रिय खेलकुद परिषदबाट भत्ता नपाएको बताएका छन्।

निराश प्याराग्लाइडिङ खेलाडीहरुले दुई हप्ता अगाडिदेखि प्रशिक्षण बन्द गरिसकेका थिए। नोभेम्बर २० को दर्ता समय कुर्नु औपचारिकता मात्र हुनपुग्यो।

कतिपयले दक्षिण एसिया प्याराग्लाइडिङको वास्तविक अवस्था नबुझिकन नै नेपालले उक्त खेल छान्नुलाई पदाधिकारीहरुको कमजोरी समेत भनेका छन्। आठौं दक्षिण एसियाली खेलकुद नेपालमा हुँदा आयोजकको हैसियतले नेपालले कराँते र तेक्वान्दो छानेको थियो।

जसबाट २८ स्वर्ण प्राप्त गरेको नेपाल पदक तालिकामा दोस्रो स्थानमा उक्लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *