जब परिवारका सदस्यलाई काकाको शव बोकेर बीमा कम्पनी जान बाध्य पारियो
काठमाडौं। दक्षिण अफ्रिकाको एक परिवारले आफ्ना मृतक काकाको शव बोकेर बीमा कम्पनी पुग्न बाध्य हुनु परेको छ । बीमा कम्पनीले उनीहरुलाई उनका काकाको मृत्यु भएको प्रमाण ल्याउन भनेपछि उनीहरु शव नै बोकेर बीमा कम्पनी गएका हुन् । न्यूयोर्क पोस्टको समाचार अनुसार मृतक सिफिसो जटिस म्हलोङगोको मृत्यु भएपछि उनको जीवनबीमाको दावी गर्न गएका परिवारका सदस्यलाई बीमा कम्पनीले सिफिसोको मृत्यु भएको प्रमाण ल्याउन भनेको थियो । परिवारले शव लिएर गएको घटनाको भिडियो बनाए जुन भिडियो भाइरल भएको छ ।
सिफिसोको जीवन बीमा गरिएको कम्पनी ओल्ड म्युचुअलले कागजी प्रक्रियामा समस्या हुने भन्दै उनको बीमाको रकम दिन अस्वीकार गरेको थियो । रकम दिन ९ दिन ढिलाइ भएपछि उनीहरुले काकाको अन्तिम संस्कार पनि राम्रोसँग गर्न पाएनन् । आजीत भएपछि उनीहरुले शव नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका हुन् । भिडियो ट्वीटरमा शेयर भएपछि भाइरल भएको छ । यो भिडियोमा प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले कम्पनीको आलोचना गरेको छ । बीमा कम्पनीले पनि भिडियोमा प्रतिक्रिया दिँदै उनीहरुलाई बीमा रकम भुक्तानी दिइएको र यो विषय संवेदनशील भएकोले आफूहरु भविष्यमा पनि त्यो परिवारको सम्पर्कमा रहिरहने जनाएको छ ।
Facebook Comment