विराजले हेरे आर्यनको ‘च च हुई’

डिसी नेपाल
६ मंसिर २०७६ १५:५४

काठमाडौं। अभिनेता विराज भट्टले शुक्रबारदेखि प्रदर्शनमा आएको आर्यन सिग्देल अभिनित चलचित्र ‘च च हुई’ हेरेका छन्। हलमा कमै मात्र पुग्ने विराजले शुक्रबार बिहान काठमाडौंको बानेश्वरमा रहेको ‘वान सिनेमाज’मा चलचित्र हेरेका हुन्।

विशेष शोमा विराजसंगै निर्देशक तथा कलाकार दीपाश्री निरौला, हास्य कलाकार केदार घिमिरे, जितु नेपाल, निर्देशक प्रदीप भट्टराई, कलाकार तथा निर्माता रविन्द्रसिंह बानिया, निर्देशक रेनशा वान्तवा राई, कलाकार लुनिभा तुलाधर, अभिनेता सलोन बस्नेन, आमेश भण्डारी लगायतका कलाकारले चलचित्र हेरेका थिए। चलचित्र हेरेका चलचित्रकर्मीले ‘च च हुई’ रमाईलो कथामा एउटा उत्कृष्ट चलचित्र बनेको प्रतिक्रिया दिए।

विराजले ‘च च हुई’ आफूलाई मन परेको बताए। उनले कथावस्तु, प्रस्तुतिसंगै सबै कलाकारको अभिनय उत्कृष्ट लागेको प्रतिक्रिया दिए। केही ठाउँमा चलचित्रले हँसाएको उनले बताए। निर्माण यूनिटलाई बधाई दिँदै विराजले भने, –‘चलचित्रमा सबैले मेहनत गर्नुभएको छ। हेरुन्जेल निकै आनन्द आयो। सबैलाई हेर्न आग्रह गर्छु।’

विराज र आर्यनले एकअर्काको पनि खुलेरै प्रशंशा गरे। आर्यनले आफ्नो डेब्यू चलचित्र ‘किस्मत’मै आफूलाई सबैभन्दा मनपर्ने अभिनेता विराजसंग काम गर्न पाएको बताए। आर्यनले विराजलाई ‘साङलो’का लागि पनि शुभकामना दिए। विराजको निर्देशन र अभिनय रहेको चलचित्र ‘साङलो’प्रदर्शनको लागि तयारीमा छ।

साम्तेन भुटिया निर्देशित ‘च च हुई’मा आर्यनका साथमा मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ शिर्ष भूमिकामा छन्। हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा पुस्तकले ल्याउने उतारचढावलाई फिल्ममा रमाईलो तरिकाले चित्रण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *